भुकम्पिय हिसाबले पोखरा खतरापुर्ण


          भुकम्प प्राकृतिक विपत्ती । कतिबेला कसरी आउँछ भन्ने कुरा कसैलाई पत्तो हुँदैन । ईतिहासमा हेर्दा नेपालमा विक्रम १८३० मा राजा अभय मल्लको पालामा पहिलोपटक भुकम्प आएको पाईन्छ । ईतिहासअनुसार त्यतिबेला राजा मल्ल सहित काठमाण्डौ उपत्यकाका एक तिहाई मान्छेको ज्यान गएको थियो । त्यसपछि नेपालमा १९९० सालमा महाभुकम्प आएको थियो जसको कारण ठुलो धनजनको क्षती भएको थियो । 

          भुगर्भविद्हरुका अनुसार भुकम्प आउनुको मुख्य कारण पृथ्वी धान्ने विभिन्न प्लेटहरु एकआपसमा ठोक्किएर हो । ‘यस्ता सातवटा प्लेटहरुले पृथ्वीको संरचना बनेको छ ।’ भुकम्प सम्बन्धि जानकार वातावरणविद् डा. कृष्ण केसीले भन्नुहुन्छ–‘जसको भरमा पृथ्वी अडिएको छ ।’ ती प्लेटहरु सँधै नै एकआपस्मा घर्षण हुने भईरहेपनि केहि निश्चित समयमा बढि नै चेपिएर ठोक्किँदा पृथ्वीमा धक्का लागेर हल्लिन पुग्ने उहाँ बताउनुहुन्छ । भुगर्भविद्हरुका अनुसार भुकम्पको केन्द्र मानिने स्थानहरुमा यस्तो धक्का प्रत्येक ५०–१ सय वर्ष भित्रमा लागेकै हुन्छ । 

         ‘नेपाल पनि यस्तो जोखिमको क्षेत्र हो ।’ भुकम्प प्रकोप क्षेत्र हाईटीमा करिब २ वर्ष अगाडी उद्दारका लागी गई त्यसै विषयमा अध्ययन समेत गरेका तत्कालिन  कास्कीका जिल्ला प्रहरी प्रमुख यादवराज खनाल थप्नुहुन्छ–‘उत्तरबाट तिब्बती प्लेट र दक्षिणबाट अर्को प्लेटले पेलिएर नै नेपालमा हिमाल भएको हो ।’ दुईवटा प्लेटको चेपुवामा परेर नेपालका हिमालहरु प्रत्येक एक वर्षमा ५ सेन्टिमिटर बढेको भुगर्भविद्हरु दावी गर्छन् । ‘भुकम्प कहिल्यै पनि साईरन बजाएर आउँदैन ।’ उहाँको भनाई छ–‘त्यसैले यसको क्षतीबाट बच्नका लागी पहिल्यै सचेत हुनुपर्छ ।’

         पोखराको हकमा भने सेती नदिले पारेको खोँचको वरिपरीको भाग भुकम्पिय हिसाबले अति नै खतरा मानिने क्षेत्रहरु हुन् । उहाँले भुकम्पिय हिसाबले पोखराको भौगोलिक अवस्थाको बारेमा गहिरो अध्ययन समेत गर्नुभएको छ । उहाँकै अनुसार पोखरामा हरियोखर्क, रातोपैह«ो, छोरेपाटन, गुप्तेश्वर गुफा, डेभिस््फल, न्युरोड, चिप्लेढुंगा, नदिपुर लगाएत वगर, दीप भन्दा अझै माथि सम्मका क्षेत्रहरु खतरापुर्ण मानिएका छन् । ‘त्यस्ता स्थानमा बस्नेहरुले आफ्नो सुरक्षाको लागी पुर्वतयारी गर्नुपर्छ ।’ उहाँ सुझाउनुहुन्छ । 

       सुरक्षाको हिसाबले ईन्जिनियरको सल्लाहमा माटोको परिक्षण गराएर भुकम्पिय जोखिममुक्त घर बनाउनु सबैभन्दा उपयुक्त हुने एसपी यादवराज खनालको भनाई छ । त्यो बाहेक भुकम्प आएको बेलामा सकेसम्म खुल्ला ठाउँमा गएर बस्नु बुद्धिमानी हुने उहाँ बताउनुहुन्छ । ‘तर खुल्ला ठाउँमा जाने भन्दैमा हतार गर्दा झन् ठुलो विपत्ती आउनसक्छ ।’ उहाँ भन्नुहुन्छ–‘त्यसैले प्रत्येक अवस्थामा होशियारी अपनाउनुपर्छ ।’ त्यसबाहेक भईपरि आउन सक्ने खतराका लागी पहिल्यै नै सजग हुन सके क्षती न्युनिकरण गर्न सजिलो हुने उहाँको विश्वास छ । 

         पोखरा उपमहानगरपालिका कार्यालयका ईन्जिनियर नारायण गुरुङका अनुसार पोखरामा मापदण्ड विपरित भवनहरु बन्ने क्रम बढेपछि पोखरा उपत्यका भुकम्पीय दृष्टिकोणले जोखिममा छ । भवन निर्माणको आचार संहिता भए पनि कार्यान्वयन नभएकाले भुकम्प गएमा पोखरामा धेरै धनजनको क्षति हुने संभावना रहेको उहाँको भनाई छ । नेपाल र सिक्किमको सिमाक्षेत्रलाई केन्द्रविन्दु बनाएर आईतबार साँझ ६ बजेर २५ मिनेट जाँदा आएको ९० साल यताकै शक्तिशाली भुकम्पले नेपाल र भारतमा धेरै विपत्ती ल्याएको छ । भुकम्पबाट नेपालमा ११ जनाको ज्यान गयो भने भारतमा ३० जना भन्दा बढिको ज्यान गएको छ । ६.८ रेक्टर मापन गरिएको भुकम्पबाट कति धनजनको क्षति भएको छ त कति घाईते भएका छन् ।