मौसमको अनुकूल वातावरणले ति हिम श्रृङ्खला, छाँगा, छहरा र लहरै मिलेका बस्तीलाई हेर्ने हाम्रा नजरलाई भरपुर साथ मिलिरहेको थियो। लालीगुराँस, सुनाखरी, बुकीफुल र हिमलहरे फूलहरुको सुवासमिश्रित स्वच्छन्द हावाले हामीमा थप उर्जा प्रदान गरिरहेको थियो। बिचबिचमा बिभिन्न जाति अझ बिषेश गरी गुरुङ समुदायका संस्कारगत खानाका परिकार र स्थानीय स्तरमा उत्पादित ताजा भोजनले हामीलाई अमृत दिलाएको थियो। त्यहाँका स्थानीय समुदायले गरेको सत्कार र स्वागतले हामीमा प्रेरणा र उत्साह थपेकै थियो।

त्यसैले त हेर्दा आकाश जोडिने कैयौं डाँडा, पखेरा र पहरासँग मितेरी लगाउँदै, अनि हरियाली र बिभिन्न जातका बोटबिरुवाले भरिपूर्ण बनजंगलसँग प्राकृतिक साईनो लगाउँदै ३ दिनको पदयात्रा पछि पुग्यौं हामी खुमई डाँडा। यो समुन्द्र सतहबाट ३२४५ मिटर उँचाईमा पर्दछ। जहाँबाट धौलागिरी, मनास्लु, माछापुच्छ्रे र अन्नपूर्ण हिमश्रृङ्खलाका कुनाकाप्चा अवलोकन गर्न सकिन्छ। मानौं कि यी हिमश्रृङ्खलाका बलेसी खुमई हो भन्दा फरक नपर्ला। क्रियाशील पत्रकार महिला संघ कास्कीको आयोजनामा १७ जना पत्रकारहरुको टोलीले गत कात्तिक १७ गते शुरु गरेको माछापुच्छे्र नमुना पदयात्राके अन्तिम यात्रास्थल हो यो खुमई डाँडा।
![]() |
| नागबेलि मर्दीखोला |
उक्त पदयात्राको पहिलो दिनको यात्रा पर्यटकीय स्थल हेम्जाकोट, धम्पुस हुँदै खोरामुखबाट ल्वाङघलसम्मको थियों। पोखरा, बिशेष गरी गुरुङ जातिको बाहुल्यता भए तापनि वास्तविक गुरुङ जातिको संस्कारगत स्थलको पहिचान बल्ल त्यहाँ पुगेपछि पाए जस्तो लाग्यो मलाई। बिद्युत आपूर्ति हुँदाको अधेँरी रातमा पनि ति लहरै मिलेका घरका ढुङ्गाका छानाको प्रकाशले झन् दिव्य किरण छाईरहेको थियो। दिनभरिको हिँडाईले थकित भएतापनि गुरुङसेनी आमाको हातले बुनेको गुन्द्रीमाथि टुसुक्क बसी पिएको महकिलो मही र आकाशका तारा जस्ता सेतै लावा बनेका मकैको एकै गाँसले सबै थकाई र प्यास मेटाईदियो। सबै साथीहरु आ–आफ्नै सुरमा त्यहाँको सुन्दर रमणीय वातावरणसँग रमाउँदै थिए। यो पदयात्रा मेरो लागि पहिलो थियो सायद त्यसैले होला मलाई यो सुनौलो अवसरमा सुन्दर बस्तीसँग जिस्किन मन लाग्यो। छिनभरमै धेरै फोटो आफ्नो क्यामेरामा कैद गरें। बस्तीपच्छेका समुदायको सत्कार र स्वागत अनि उनीहरुको शिष्टाचार व्यवहार अति नै बिर्सन नसक्नु थियो।
![]() |
| माछापुछ्रे हिमाल |
हेम्जाकोट, धम्पुस र ल्वाङघलेल पोखरा नगरीबाट एक दिनमा घुमेर फर्कन सकिने स्थल हुन्। दुरीको हिसावले ति गाउँ पोखरा शहरबाट नजिक रहेता पनि त्यहाँको बिभिन्न जातजातिका संस्कारगत पहिचान त्यसमा पनि बिशेष गरी गुरुङ समुदायका रहन सहन, संस्कार, संस्कृति र परम्परागत जीवनशैली बिलकुल परक थियो। राष्ट्रियताको पक्षमा भाषण ओकल्ने हाम्रा महान् नेताहरु सायद त्यो ठाउँमा पुग्ने हो भने बल्ल बुझ्न सक्नेछन् नेपालको राष्ट्रियता, यथार्थता र गौरव के हो भनेर। उक्त गाउँमा विगत ४ वर्षदेखि होम स्टेको व्यवस्था गरिएता पनि अहिलेसम्म जम्मा ५ ओटा घरमा होम स्टेको व्यवस्था गरिएको र केही फाट्टफुट्ट पर्यटकहरु क्याम्पिङमा आउने गरेको स्थानीयबासीको भनाई थियो। यसैगरी धिताल हेम्जाकोटमा भने १५ वटा घरमा होम स्टेको व्यवस्था रहेछ। ल्वाङ्घलेल नगदेवाली चिया खेतीले पनि प्रख्यात मानिन्छ। यहाँ ६० लाख बराबरको चियाँ आम्दानी हुने र उत्पादित चिया डाईरेक्ट जर्मनमा निर्यात गरिएकोमा हाल भने बजार व्यवस्थापन राम्रो नभएकोले नेपालभित्रै बिक्री बितरण गर्ने भएको छ।
![]() |
| घलेल गाउँ |
भोलिपल्ट हामी चिया बगान र त्यहाँबाट देख्ने गाउँबस्ती र शिरैमा उभिएको हिमश्रृङ्खलाको अवलोकन गरी खोरामुख झर्यौंए। त्यहाँबाट रिभानको उकालो बाटो लाग्यौं। रिभान गाबिसको वडा नं. १ अन्तर्गत देउरालीमा खाना खाई मैचेडाँडा, हलहले हुँदै घाँचोक गाविसमा पर्ने ललका डाडाँमा हाम्रो क्याम्पिङ थियो हाम्रो। रिभान गाविस मगर गुरुङ बस्तीले भरिएको ठाउँ, जहाँ घलेक, बख्खु, भाङ्ग्रा, चकटी जस्ता सामाग्री आफैले तयार पार्दा रहेछन्। प्याराग्लाईडिङको लागि सम्भावना बोकेको मैचे डाँडाले थप पर्यटकको पर्खाइमा आफ्नो रुप समतल्ल रुपमा बिछ्याइरहेको थियो। अर्गानिक मलको प्रयोगद्धारा उत्पादित खाना र मर्दी खोलाको माछाको स्वाद सम्झ्यो भने अहिले पनि भोक आफै टर्लाजस्तो महसुस गराउँछ मलाई। हाम्रो यात्रा जति अगाडि बढ्यो उति नै नयाँ र सुनौला रुख बिरुवाहरु हाम्रो स्वागतका लागि अगाडि प्रस्तुत हुन्थे। घोरल, मलसाप्रो, मुसो, खरायो, ढुकुर, यति जस्ता बन्य जन्तु र चराचुरुङ्गीका सलवलावट घना जंगलको सुन्यतामा बीच सुन्न पाउँदा अनौठो खालको अनुभूति हुन्थ्यो।
![]() |
| Pokhara Canyoning |
हामीमध्ये ६ जना भरियाहरु प्राय अघिअघि नै हुन्थे। हामी ५/६ जनाको ग्रुप प्राय बीचमा पर्थ्यौं। घना जङ्गलबीच अगाडिको ग्रुप र पछाडिको ग्रुपलाई देख्न सकिँदैनथ्यो। कहिले काँही हामीले बाटो त बिराएनौ भन्ने भान हुन्थ्यो। एकचोटी त हामी बीचमा यता न उता भइरहेका थियौं। झमक्क रात परिसकेको थियो। जंगलबीच झ्याउकीरी र मलसाप्रोको आवाज बाहेक केही सुनिदैनथ्यो। जंगलको बाटो सबै छरिएका थिए। कता जाउँ कता जाउँ भइरहेको अवस्थामा थियौं। पछि आउने ग्रुप पनि त्यही बाटो आए अथवा अर्को बाटो गए खै कुन्नी? भन्दै त्यही जंगलमा अडिएर बसिरह्यौं। हाम्रो क्याम्पिङ स्थल ललका पुग्न कति समय लाग्छ अनुमान गर्न पनि सकेनौं किनकि हाम्रो गाईड अगाडि नै गईसक्नुभएको थियो। ठिक त्यही समयमा अन्धकार छाएको उन्यूको छाडी भित्रबाट आवाज आयो, मन झसङ्ग भयो। उ हामी भएतिर अगाडि बढ्यो, एकातिर उत्रो घना जंगलबीच निस्केको मान्छे को होला भन्ने डर, त्रास उब्ज्यो भने अर्कोतिर हामीलाई दिशानिर्देश गर्ला कि भन्ने आशा पनि पलायो। उसले केही भन्ने भन्दा पहिले हामीले प्रश्न गर्यौंि \'दाई ललका डाँडा पुग्न अब कति लाग्छ?\'

उसले दाहिने कोखामा च्यापेको स्याउले घाँसको मुठा म नेरै बिसाउँदै भन्यो–\'यही माथि हो अब जम्मा पाँच मिनेट जति लाग्छ।\'
यति भनेपछि हामीले एकछिन आनन्दको श्वास फेर्यौंी।
मैले सोधे– \'तपाई कहाँ जान आउनुभएको यस्तो जंगलमा यतिबेला एक्लै?\'
\'मेरो दुहुनो भैंसी हराएको २ दिन भयो गोठमा आएको छैन त्यसैले खोज्न गएको फेला परेन\' उसले लामो श्वास तान्दै भन्यो।
तपाईंको घर कहाँ हो र दाइ भनी सोध्न नपाउँदै उसले भन्यो \'मेरो गोठ यही माथि हो, मेरो गोठ नजिकै हो नि क्याम्प ललका क्याम्प।\'
अहिले भने उसको भैंसी हराएको दुःख बिर्सेर आज हामी आफ्नो गोठ नजिकै बस्न आएको देखेर खुसीको भाव व्यक्त्यायो। त्यस जङ्गलको एक्लो गोठालो भीमप्रसाद लम्सालसँग कुरा गर्दै हामी क्याम्पमा पुग्दा पाल टाँगिसकेका थिए। सधैँभरी त्यो घना जंगलको बीच एक्लै बस्ने गोठालो आज हाम्रो आगमनले पनि केही फुरुङ्ग थिए। केहीसमय सम्म उनीसँग कुराकानी गरी त्यहाँको परिवेश, वातावरण र त्यस भेगको गोठ राख्ने प्रचलनको बारेमा बुझ्ने मौका पाईयो। आफू सात वर्षको उमेर हुँदा देखि नै लेकमा भेडीगोठ बस्न थालेका भीमप्रसादलाई ति घना जंगलको स्वच्छ वातावरण र त्यहा हुर्केका चराचुरुङ्गी, पशुपंछीसँग रमाउन पाउदा खुशी छन्।
![]() |
| जुका |
उसले अहिले २५ ओटा भैसी पालेका छन् भने गोठमा जम्मा ३ ओटा साना पाडापाडी मात्र छन्। किनभने अरु सबै भैसी दिन रात जंगलमा नै छाडिने रहेछन्। बिहान पख १० रुपिया गिलास दुध पिएर हामी त्यहाँबाट उकालो लाग्यौं। हामी जति लेकतिर लाग्यौं उति नै लट्टा परेका झाडी, लहरे रुख, लाली गुरास र सुनाखरीका झ्याङ छिचोल्नु पर्दथ्यो। आफ्नो अस्तित्व बिर्सन लागेजस्तो गरी कठ्याङग्रिरहेका केही बुट्यानहरुलाई पनि लालीगुराँस, पैँयू, सुनाखरीजस्ता बडेमानका रुखहरुले ओत दिई जीवन रक्षा गरिरहेका थिए। हाम्रो तेस्रो दिनको क्याम्पिङ स्थल वा अन्तिम गन्तव्य स्थल थियो खुमई डाँडा। हिले खर्क, देउराली हुँदै खुमई पुग्दा करिब ४ बजेको थियो।
![]() |
| युवा अभियान |
हामी जति जति माथि चढ्यौं उति उती बनजंगलको झाडी पातलिँदो थियो। नाक टेकिने उकालो बाटो बाबियो र उन्यूको गाँज समाउँदै त कतै काठे भर्यााङ चढ्दै, ढुङ्गाको काप फोर्दै खुमईको टुप्पोमा पाईला टेक्दा मलाई शास्त्रमा उल्लेख गरिएको स्वर्ग नै होकी भन्ने भयो। त्यो उकालो चढ्दा खुमई डाँडाबाट देखिने यो रमणियताको कल्पना समेत गरेको थिईनँ। तीन दिनको हिँडाईको थकानले लखतरान परिरहेको थिएँ त्यसैले माथि पुगेपछि त एकछिन आराम गर्नुपर्ला भन्ने सोचेको थिएँ। तर त्यहाँ पुग्दा थकाई त के अनौठो खालको शक्ति ममा प्रवाह भएजस्तो लाग्यो। बस्ती बिनाको त्यो सुन्दर स्थलमा खोरल, हिउँचितुवा रमाईरहेका थिए। त्यसको अगाडि बैंश फुलाएकी हिमश्रृङ्खलाले चिउँडो माथि हात राखी लालुपाते र सुनाखरीको फूल सिउँरेर मख्ख परिरहेकी थिई। बालापनमा बाबाआमासँग गरिएको लाडप्यार आज माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु र धौलागिरीको काखमा लुटपुटिँदै पोखुँजस्तो लाग्यो। दूरसम्म फैलिएका डाँडाकाँडा, गाउँपाखा, हरियाली बनजंगल, पोखरा शहर, पर्यटकीय क्षेत्र लाहचोक खाँचोक, ल्वाङ घलेल, धम्पुस, घान्द्रुकका बस्तीबीच पर्ने खुमई डाँडामा साँच्चै नै सोच्नै नसक्ने हथाह सुन्दरता पाएँ। तीन दिनको हिँडाई र थकाई भुसुक्कै बिर्सेर साथीहरु आ–आफ्नै तालमा र सुरमा रमणिय स्थलको सुटिङमा व्यस्त रहे। हिमालयको काखबाट बहने चिसो, स्वच्छ र सुमधूर हावा, आफ्नो सुन्दर, निश्चल बैंश पोख्नको लागि आतुरमा रहेकी हिमालय पर्वत र नयाँ पर्यटकको पर्खाईमा रहेको मौन वातावरणसँग एकैछिन वार्तालाप गर्न मन लाग्यो। यहीँ हो सुन्दर स्थल कोर्चुङडाँडा हुँदै मोदी हिमाल जाने मार्ग। जुन समुन्द्र सतहदेखि ५ हजार ५ सय ८७ मिटर उचाईमा पर्दछ। विगत दुई वर्षदेखि सुरु गरिएको माछापुच्छ्रे नमुना पदयात्रा अन्तर्गत पर्ने उक्त ठाउँमा अहिलेसम्म २ हजार जना पर्यटकहरु आउने गरेको माछापुच्छ्रे पर्यटन विकास समितिका सचिव कर्ण गुरुङले जानकारी दिए।
![]() |
| पानि घट्ट |
भोलिपल्ट बिहान सूर्योदयको किरणले हामीलाई उठ्न झक्झकाईरहेको थियो। पालको सानो प्वालबाट पूर्व चियाई हेरे। भर्खरै बिवाह बन्धनमा बाँधिदै गरेकी नव बिवाहित युवतीले शिरमा सिन्दुर पोतेर हिमाललाई काखमा च्यापी मुस्कुराईरहेकी थिई। हामी पनि बाहिरियौं पालबाट, अनि नेपालको प्राकृतिक सुन्दरता, गौरव र शानप्रति गर्वित हुँदै सलाम दिएँ– \'आहा....... अथाह सुन्दर छ नेपाल\'।
ट्रेकिङ्को चौंथो दिन, तर भोलिल्ट तिहारको भाईटीका, जसरी पनि फर्कनुपर्थ्यो हामी। बिहानको मधुर दृश्यावलोकन पान गर्दै ८ बजेतिर तितो मन बनाएर रमणीय स्थल छोड्यौं हामी। कैंयौं नजर फर्काउँदै फेरि अर्कोचोटी भेट्ने बाचाका देउराली, पिपरा, करुवा, मिर्सा, तातोपानी, खारपानी हुँदै बेलुकी ७ बजे पोखरा झर्यौंर।
घर फर्केपछि झन् ति दृश्यहरु एक एक पालैपालो नजरमा आए। प्राकृतिक सुन्दरताले भरिपूर्ण भएर पनि त्यसलाई लोकप्रिय बनाउन र त्यसको उचाई बढाउनको लागि आवश्यक पूर्वाधारको निर्माण नभएकोले मन खिन्न भएर आयो। साईनबोर्ड नरहेकाले हामी बीचबीचमा हराउने र अलमलमा पर्नुपर्योय। त्यसैले बीचबीचमा मार्ग निर्देशनको लागि साइनबोर्डको खाँचो तत्कालको अभाव देखिएको छ। बीचबीचमा पानी, पँधेरा र चियानास्ताको अभाव पदयात्रीले झेलिनु परेको छ। बाटोभरी फुलेका हिमाली फूल र औषधिजन्य बुटीहरुले संरक्षण खोजिरहेका छन्, त्यसको उचित संरक्षण, सदुपयोग हुन सकिरहेको छैन। त्यसैले यसप्रति सरकार लगायत सम्बन्धित निकायको छिटोभन्दा छिटो ध्यानाकर्षण होस् जबकी भविष्यमा जाने पर्यटकहरुको मन अझ भरिन सकून् र निर्धारित समयमा उनीहरु गन्तव्यस्थानमा पुग्न सकून्।
शब्द:- मीना थापा मगर, पोखरा
तस्वीर: ल्वाङ घलेलका साथिहरुको फेसबुक वाल







Photo: Mardi Himal map from ACAP

Photo: lodges at Forest Camp
Photo: Mardi Himal ridge
Photo: sign for Low Camp (Humal)
Photo: Danphe pheasant in cloud
Photo: dining room with heater at High Camp
Photo: view of Mount
Photo: Mardi Himal ridge
Photo: Mount
Photo: homestay in Siding village


.bmp)
.bmp)


