समाज रुपान्तरणको अचुक अस्त्र : ब्यवहार

समाज रुपान्तरणको अचुक अस्त्र : ब्यवहार
🖋️~ यज्ञ लम्साल
जब सनातन धर्म, सभ्यता र विविध कालखण्डमा तोफमोड भएका रितिरिवाज र चालचलनका कुरा एक पुस्तादेखि अर्को पुस्तामा हस्तान्तरण हुन्छन् र बालमनोविज्ञानमा नै ति कुरालाई जवर्जस्ती लादिन्छ वा उनीहरु आफसेआफ  सिक्दछन् । त्यसपछिका किताबी ज्ञान किताबमै सिमित हुँदारहेछन्। यसको ज्वलन्त उदाहरण हो हाम्रो आजको कथित सुशिक्षित समाज।

चेतना विकसका क्रममा वालबालिकाहरुलाई सर्बप्रथम त के गर्न हुने वा के गर्न नहुने बाट शुरु गरिन्छ तर किन गर्ने वा किन नगर्ने भन्ने वारे हाम्रो समाज खासै चासो राख्दैन वा कुनैपनि कुरा कसरी गर्ने भनेर सिकाउदैन। सभ्यताको नाममा हाम्रो समाजले यस्तो क्रुर शिक्षा दियो कि सँगै हुर्केबढेका एकदमै मिल्ने छिमेकका एक केटा र केटि साथी उनीहरुको लिङ्ग फरक हो भन्ने बुझेबाटै टाढिदै गएको सम्बन्ध लैङ्गकि समानताको चर्का नाराहरुले फेरि दुरुस्तै भएन।

मदिरा सेवन नगर्नु यसले स्वास्थ्यमा नकारात्मक असर पार्दछ भनेर सिकाइन्छ। यसका फाइदाका साथै बेफाइदाका वारेमा राम्ररी बुझाइदैन र कौतुहलता बढ्दै जादा लुकिछिपि मदिरा पिउन थाल्छ र अनियन्त्रित हुँदै बाटो घाटोमा दिसापिसाब गर्दै ,वाक्दै, होहल्ला गर्दै हिड्न थाल्छ वा मदिरा सेवन गरेपछि होहल्ला नै गर्नुपर्ने हो भन्ने बुझेर  व देखासिकी गरेर हो। किनकि हाम्रो समाज खुल्ला र सभ्य तवरले मदिरा पिउने स्वीकृति दिदैन र दिसापिसाब शौचालय मै गर्ने वातावरण सिर्जना गर्न सक्दैन। यसको आशय बालबालिकालाई लागु औषध तथा मदिरा सेवन गर्न उत्प्रेरित गर्नु वा सिकाउनु भन्ने हैन। यस्ता संबेदनशील विषयका वारेमा अभिवाभक र आधारभुत विद्यालय स्तरबाट नै विद्यार्थीहरुलाई सुशिक्षीत गराउने हो र खुल्ला प्रतिक्रिया गर्ने हो भने क्रमिक रुपले  मदिराजन्य पदार्थको दुरब्यसनिका साथै यसैसँग जोडिएर आउने बलात्कार तथा यौन हिंसाका घटना कम हुँदै जानेछन् ।

अति नै मिलनसार एक दलित (भनिने) वर्गका साथी उनलाई आफू दलित हुँ भन्ने थाहा दिइदादेखि र मलाई म ब्राह्मण पुत्र हुँ भनेर सिकाइएदेखि नै पहिले जस्तै हामि हाँस्न खेल्न छोड्यौ। त्यसरी टाढिएको सम्बन्ध उ दलित मोर्चामा बसेर बाहुँनवाद मुर्दावादको नारा लगाएर हिड्न थाल्दछ। पछाडी हामी  कुप्रथालाई भुलेर हार्दिकताका साथ अंकमाल गर्न खोज्छौं वालमनोबिज्ञानमा नै बसेको गहिरो छाप मेटेर हामी एकअर्कालाई  उहीँ बचपनको जस्तै कसेर अंगालो मार्न सक्दैनौ। मलाई लाग्थ्यो यो अंगालो अझै कसिन सकिन्थ्यो र उपनि त्यही सोच्दोहो। अंगालो नकसिनुको कारण के थियो तपाइँहरु आफैलाई  अनुमान लगाउन छोडें।

मलाई बच्चाबाटै अतिनै माया गर्ने एक गाउँले हजुरआमा जब बोक्सी हुन् रे भनेर मेरो समाजले मलाई सिकायो त्यसपछि उनले मायाले दिएका खानेकुरापनि मैले खान छोडे। त्यो मेरो कलिलो मस्तिष्कमा यस्तो छाप पर्‍यो कि म उनिलाई हेलाको दृष्टिले हेर्न थाले। अहिले म जति नै पढेलेखेको बुझ्ने भएँ भनेर उनलाई जति नै माया दर्साउन खोजेपनि फेरि उनि उस्तै रहिनन् । अहिले वहाँ मलाई प्यास लागेर एक गिलास पानी माग्दापनि दिन हिच्किचाउनुहुन्छ।

समाज रुपान्तरणका लागि कैयौं विषय यस्ता छन् जसको ज्ञान कुनैपनि पाठ्यक्रम तथा पाठ्यवस्तु मार्फत नभई सहि समयमा नै व्यवहारिक शिक्षाद्वारा प्रदान गरिनुपर्छ। यदि त्यसो नगरिए मेरो समाज भट्टी भित्र लुकेर मदिरा पिइ निर्लज्ज सर्वजनिक स्थानमा फोहोर गर्दै, होहल्ला मच्चाउदै हिडिरहेको हुनेछ। हर कुनै युवायुवति एक अर्कासँग बोलचाल गरेकै भरमा अनैतिक सम्बन्धको आरोप थेग्नुपर्नेछ। एक दलित (भनिने) गैर्‍ह दलित (भनिने) को धारा र चुल्हो छोएकै भरमा र मन्दिर पसेकै भएरमा निर्घात कुटपिट सहनु पर्दछ। एक वृद्ध महिला बोक्सीको आरोपबाट समाजबाटै तिरस्कृत हुनुपर्दछ।

ब्यक्तिले समाजमा देखाउने खोक्रो आदर्शलाई समाज र संस्कारबाट अपनाइएको कुप्रथा, कुरीति उसको ब्यवहार तथा आचरण परिवर्तन गर्न सक्ने हो भने समाज रुपान्तरण सरल र सहज हुनेछ। दुर्भाग्य, बालमनोबिज्ञानमा नै परेको छापका कारण त्यो त्यति सहज रहेन। त्यसैले सहि उमेर समुहका किशोर किशोरी तथा बालबालिकालाई सजगतापुर्बक यस्ता कुरीति तथा कुप्रथा अभिभावक, शिक्षक तथा समाजले नै उदाहरण बन्दै ब्यवहारिक रुपमा चिरेर हाम्रो समाजमा स्थापित विभेदको खाडललाई पुर्नसके मात्र यो समाज रुपान्तरण सम्भव छ। कोरा किताबको ज्ञान, विद्यावारीधी र आर्थिक सबृद्दी तथा सम्मुन्नतिको पछाडि दौडिदा दौडिदै यदि हामिले मनमा संकुचित सोच राखिराख्यौ भने यि स-साना देखिएका समाजका मुद्दा कुनैदिन विकराल बन्न सक्छन्।

यो धरातल विभिन्न जातजाती, भाषाभाषी, धर्म, पेसा, लिङ्ग, वर्ग, समुदाय, असहाय, अपाङ्ग, बालबालिका, वृद्धबृद्धा, एकल महिला लगायत समाजका संपूर्णको साझा हो र एकनास हक छ। सबैलाई एउटै खुड्किलामा ल्याएर  समान र सम्मानपुर्वक हर आम नागरिक सरह ज्युने वातावरण प्रचलित संविधान तथा कानुनमा सुरक्षित भएतापनि आम नागरिकको व्यवहारका कारण नै त्यो प्रभावित हुनसक्छ। व्यवहार परिवर्तन गर्न कुनैपनि वाद, तन्त्र वा मंन्त्रबाट प्रेरित नहुनपनि सक्छ। एउटा प्रचलित भनाइ छ,  " संसारलाई परिवर्तन गर्नुछ भने शुरूवात आफैबाट गर्नुपर्छ।" त्यसैले हामी संपुर्ण सचेत नागरिकले आ-आफ्नो ठाउँबाट राष्ट्रका लागि केही योगदान गर्न सकिएन भन्ने सोचिएको छ भने सिर्फ आफ्नो देशको कानुनको पालना तथा यथास्थितिवादी सोच र ब्यवहार मात्रै समयानुकूल परिवर्तन  गर्न सकौं, त्यसबाट एक सभ्य समाजको निर्माण गर्न सकिन्छ जसले राष्ट्रनिर्माणमा प्रत्यक्ष भुमिका खेल्दछ। फलतः यसले समाज तथा राष्ट्रनिर्माणमा नै ठूलो टेवा पुर्‍याउदछ।

🖋️~ यज्ञ लम्साल
माछापुच्छ्रे ,घाचोक