नेपाली कांग्रेसका सभासद् तथा युवा नेता गगन थापाले व्यवस्थापिका संसदको सभामुख र संविधानसभाको अध्यक्ष फरक–फरक हुनुपर्ने बताएका छन् । एउटै व्यक्ति सभामुख र संविधानसभाको अध्यक्ष रहँदा संसदको कामले संविधानसभाको कामलाई प्रभावित गर्ने बताउँदै थापाले सो कुरा बताएका हुन् । रातोपाटीसँग विशेष कुराकानी गर्दै थापाले भने, ‘पहिलो संविधानसभामा विशेष परिस्थितिमा दुई वर्षको अन्तरिमकालका लागि संविधानसभाले नै व्यवस्थापिका संसदको काम गर्ने भनिएको हुँदा त्यस्तो प्रावधान राखिएको थियो । तर हामीले देख्यौं संसदको कामले संविधानसभाको कामलाई पूर्ण रुपमा प्रभावित गर्यो । त्यसैले सभामुख छुट्टै र संविधानसभाको अध्यक्ष छुट्टै बनाउनुपर्छ ।’ यसरी छुट्टै व्यक्तिलाई जिम्मेवारी दिँदा संविधानसभामा पक्ष र प्रतिपक्ष भन्ने कुरा पनि नरहने उनको तर्क छ । ‘सरकार बनाउँदा सभामुख भागबण्डा गरे पनि सरकारमा नरहेको दललाई अध्यक्षको जिम्मेवारी दिनुपर्छ । जसले संविधानसभामा पक्ष प्रतिपक्ष भन्ने रहँदैन । यसले सरकारको दिनहुँको कामलाई प्रभावित पनि गर्दैन,’ उनले भने । थापाका अनुसार एक वर्ष भित्र संविधान जारी गर्ने हो भने दलहरुले आफ्नो कार्यशैली परिवर्तन गर्नुपर्ने बताए । पूरानै शैलीमा काम गरेर परिणाम नयाँ खोज्नु चमत्कारमा विश्वास गर्नुजस्तै हो भन्ने धारणा रहेको छ । ‘ हामीले काम गर्ने तरिका नफेरी जस्ताको तस्तै पुरानो शैलीमा काम गरेर परिणाम नयाँ आउँछ भन्यौं भने त्यो जादुमा विश्वास गर्नु जस्तै हुनेछ । यही तरिकाले काम गर्यौं भने अघिल्लो पटक जस्तै यसपटक पनि परिणाम असफलता नै हुनेछ ।’ समयमा संविधान लेख्नका लागि दलहरुले एक पछि अर्को काम नगर्दै एकसाथ चार–पाँचवटा काम सँगै लैजानु पर्ने उनको धारणा थियो । उनले भने, ‘हाम्रो कार्यतालिका निकै व्यस्त हुनुपर्छ । त्यसका लागि एकपछि अर्को काम गर्ने भनेर हुँदैन । यसका लागि सँगसँगै चार–पाँच वटा कामहरु सँगसँगै लानुपर्दछ । सरकार र संविधान निर्माणको कामलाई अलग्गै लानुपर्छ ।’ फरक प्रसंगमा थापाले संविधानसभामा बाहिरी हस्तक्षेप कम गर्न दातृ निकाय र अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिने काम पनि बन्द गर्नुपर्ने बताएका छन् । उनका अनुसार दातृ निकायबाट सहयोग लिँदा संविधान लेखनमा हस्तक्षेप हुन्छ । ‘ हामीले बदल्नुपर्ने अर्को काम भनेको बाहिरबाट सहयोग लिने कामलाई बन्द गर्नुपर्छ । यसरी सानो विषयमा सहयोग लिँदा उनीहरुको चाँसो अनुसार काम गर्नु पर्ने हुन्छ,’ उनी भन्छन् । -
सशक्त युवा नेताको रुपमा आम नेपालीबीच परिचित गगन थापा यसपटकको संविधानसभामा नेपाली कांग्रेसका तर्फबाट सभासद्मा निर्वाचित भएका छन् । स्पष्ट वक्ताका रुपमा पनि चिनिने थापा, दलहरुले एक वर्षभित्र संविधान बनाउने हो भने सबैभन्दा पहिले आफ्नो कार्यशैली परिवर्तन गर्नुपर्ने विचार राख्दछन् । संविधानसभामा हरेक विषयलाई छलफल गरेर मात्र अनुमोदन गर्नुपर्ने उनको उडान रहेको छ । तीन महिना बितिसक्दा पनि संविधान लेखनमा प्रगति नभएको र अझै पहिलेकै गल्तीलाई दलहरुले दोहोर्याई रहेको सेरोफेरोमा कांग्रेस सभासद् गगन थापासँग गरेको कुराकानीको सम्पादीत अंशः
संविधानसभाको निर्वाचन भएको तीन महिना बितिसक्दा पनि संविधान निर्माणको विषयमा उल्लेखिय प्रगति हुनसकेको छैन । किन ?
संविधानसभाको निर्वाचन पश्चात बितेको तीन महिनामा जुन अलमल देखिएको छ, त्यसले पक्कै पनि अनिश्चिताको संकेत गरेको छ । यसरी अलमल हुनुको पछाडि मुख्य तीन कारणहरु रहेका छन् । पहिले त हाम्रो अन्तरिम संविधानमा केही कमजोरी र अस्पष्टता रह्यो जसले यो अन्यौलतालाई थप बढावा दियो । जस्तै सरकार गठन कसरी गर्ने ? कसले बैठक बलाउने ? आदि विषयहरुले अनावश्यक रुपमा उल्झनहरु बढाउने काम गर्यो । दोस्रो, केही राजनीतिक कारणहरु पनि रहे । जस्तै एकीकृत नेकपा माओवादीले निर्वाचनको परिणाम अस्वीकार गरेको अवस्था थियो । उसलाई मनाएर संविधान निर्माणको प्रक्रियामा ल्याउन पनि केही समय खर्च भयो । तेस्रो भनेको हाम्रो काम गर्ने शैली नै रह्यो । जुन स्थायी प्रवृति हामीले पहिलो संविधानसभामा देखेका थियौं । अहिले ठ्याक्कै त्यही प्रवृतिको पुनरावृत्ति भएको छ । समानुपातिक सभासद् चयनदेखि लिएर अहिले सरकार गठनको प्रक्रियासम्म हेर्ने हो भने ठ्याक्कै त्यही देखिन्छ । हामीले सरकार निर्माणको प्रक्रियासँगै संविधानसभाको कामलाई सँगै लिएर जान सक्थ्यौं । तर हामीले त्यसो गर्न सकेनौं । हामीमा प्रक्रिया, विधि र विधानमा विश्वस नगर्ने र मौका मिले आफू अनुकुल प्रक्रियालाई मिच्ने प्रवृति रहेको छ । हामी परिणाम चहान्छौं तर त्यो परिणाम हासिल गर्न समयबद्ध तरिकाले काम गर्न चाहँदैनौं र अन्तिम समयमा चमत्कारमा विश्वास गर्छौं । यो चरम भाग्वादी चिन्तन हामीमा हावी छ । त्यही भएर चाहना हुँदा हुँदै पनि हामीले काम गर्न सकिरहेका छैनौं ।
यसलाई कसरी चिर्ने त ?
संविधान निर्माण तथा सरकार निर्माणको क्रममा राजनीतिक समस्याहरु आइरहन्छन् । त्यो कुनै नौलो होइन । तर त्यसलाई कसरी हल गर्ने विधि र संयन्त्रको निर्माण गर्न जरुरी छ । यहाँ हामीले सुधार्नु पर्ने सबैभन्दा महत्वपूर्ण कुरा भनेको हाम्रो काम गर्ने शैली नै हो । हामीले काम गर्ने तरिका नफेरी जस्ताको तस्तै पुरानो शैलीमा काम गरेर परिणाम नयाँ आउँछ भन्यौं भने त्यो जादुमा विश्वास गर्नु जस्तै हुनेछ । यही तरिकाले काम गर्यौं भने अघिल्लो पटक जस्तै यसपटक पनि परिणाम असफलता नै हुनेछ ।
नयाँ तरिकाले काम गर्ने भनेको कसरी ?
नयाँ तरिकाले काम कसरी गर्ने भन्ने विषयमा मेरो तीन वटा सोँच रहेको छ । अहिले पहिलो संविधान सभाले गरेको कामलाई के गर्ने विषयमा ठूलो अन्यौलता रहेको छ । हुन न पनि यो नयाँ संविधानसभा हो, पुरानो होइन । यो संविधानसभासँग सार्वभौम अधिकार छ, यसले कुनै विषयलाई लिन पनि सक्छ र नलिन पनि सक्छ । यसमा कुनै सन्देह छैन । तर जति यो कुरा सत्य छ, यो पनि सत्य हो कि यो संविधानसभा शुन्यबाट आएको होइन । यो जनआन्दोनको पृष्ठभूमिमा विभिन्न विद्रोह र आन्दोलनको जगमा आएको पहिलो संविधानसभा असफल भएपछि त्यही संविधानसभाले गर्न नसकेको काम पूरा गर्न आएको हो । त्यसैले यो समस्या हल गर्नका लागि सजिलो विधि भनेको ठूला दलहरुले सामुहिक रुपमा यस संविधानसभामा विघटित संविधानसभामा भएका सहमतिहरु माथि छलफल होस् भन्ने प्रस्ताव लिएर आउने र त्यसमा छलफल गर्ने । यसले के गर्छ भने ती अन्तरवस्तुहरुलाई पुनः एक पटक जनतासँग जोड्छ, नयाँ सभासद्हरु पनि त्यस विषयमा सूचित हुन्छन् र उनीहरुलाई पनि जोड्दछ । यसको साथै जुन दलले यसलाई मान्दैनौं भनेका छन् उनीहरु पनि यस छलफलमा भाग लिन पाउँछन् । यसका लागि दिनको ६–८ घण्टा बसेर भएर पनि १५–२० दिन भाग लिन सकिन्छ र अन्त्यमा यसलाई निर्णयार्थ प्रस्तुत गर्न सकिन्छ । यसरी दलले पक्ष र विपक्षमा मतदान गर्न पाउने छन् । आजको शक्ति सन्तुलनले के देखाउँछ भने सजिलै सँग यो विषय पारित हुन्छ । अब जसले यसको विपक्षमा भोट गरेका छन् उनीहरुले पनि निर्णयलाई मान्नुपर्ने हुन्छ किनभने यो अब यही संविधानसभाको प्रक्रिया बनिसकेको हुन्छ । यसरी नयाँ पूरानो भन्ने अन्तहिन छलफल पनि सकिन्छ । तर यसमा हामीले काम गर्ने तरिका फेर्नुपर्छ । कांग्रेस एमाले र एमाओवादीका नेताहरु भने धेरै समयदेखि यस प्रस्तावलाई ल्याउन खोजिरहनुभएको छ तर त्यो एक दिनमा ल्याएर एकै दिनमा पास गर्ने गरी । तीन महिनासम्म सुत्ने, समयको महत्व नबुझी काम नगर्ने र समय दिनुपर्ने कुरालाई समय नै नदिने र एकै दिनमा छलफल नगरी पास गराउने मुडमा वहाँहरु रहेको देखिन्छ । हामीले यहाँ नै काम गर्ने तरिका फेर्न सकिन्छ । त्यस्तै मैले देखे अनुसार संविधानसभाको अध्यक्ष र सभामुख एकै व्यक्ति हुने जुन संवैधानिक प्रावधान छ त्यसलाई बदल्नुपर्ने देखिन्छ । पहिलो संविधानसभामा विशेष परिस्थितिमा दुई वर्षको अन्तरिमकालका लागि संविधानसभाले नै व्यवस्थापिका संसदको काम गर्ने भनिएको हुँदा त्यस्तो प्रावधान राखिएको थियो । तर हामीले देख्यौं संसदको कामले संविधानसभाको कामलाई पूर्ण रुपमा प्रभावित गर्यो । त्यसैले सभामुख छुट्टै र संविधानसभाको अध्यक्ष छुट्टै बनाउनुपर्छ । सभामुख भनेको सरकार बनाउने दलहरु बीच भाग बण्डाको विषयमा पर्ने भयो र संविधानसभाको अध्यक्ष भने छुट्टै हुने भने । यसमा के हुन्छ भने जस्तै कांग्रेस एमालेको सरकार बनेको अवस्थामा एमाओवादीलाई संविधानसभाको अध्यक्षको जिम्मेवारी दिने जसले ऊ पनि संविधान निर्माणको प्रक्रियामा आउने छ । त्यस्तै अन्य दल मिलेमा सरकारमा नरहेको दललाई अध्यक्षको जिम्मेवारी दिनुपर्छ । जसले संविधानसभामा पक्ष प्रतिपक्ष भन्ने रहँदैन । यसले सरकारको दिनहुँको कामलाई प्रभावित पनि गर्दैन । हामीले बदल्नुपर्ने अर्को काम भनेको बाहिरबाट सहयोग लिने कामलाई बन्द गर्नुपर्छ । यसरी सानो विषयमा सहयोग लिँदा उनीहरुको चाँसो अनुसार काम गर्नु पर्ने हुन्छ, यसले हस्तक्षेप बढाउने काम गर्छ । संविधानसभालाई केही चाहेको खण्डमा नेपाल सरकारलाई माग्नुपर्छ । संविधानसभालाई चाहिएको कुरा पु¥याउने जिम्मा नेपाल सरकार हो । हामी सानो नियम बनाउन पनि अन्तर्राष्ट्रिय समुदाय र दातृ निकायलाई गुहार्छौं । उदाहरणको लागि हामी एउटा कम्प्युटर बनाउन पनि दातृ निकायलाई भन्छौं । हेर्दा यो सानो देखिए पनि यो विषय विस्तारै संविधानसभाभित्र पस्छ र यसले संविधान बनाउने प्रक्रियामा हस्तक्षेप गर्छ । यसलाई हामीले पहिलो संविधानसभामा राम्ररी अनुभव गरिसकेका छौं । त्यसैगरी हामीले एक वर्षमा संविधान बनाउने भने पछि हाम्रो कार्यतालिका निकै व्यस्त हुनुपर्छ । त्यसका लागि एकपछि अर्को काम गर्ने भनेर हुँदैन । यसका लागि सँगसँगै चार–पाँच वटा कामहरु सँगसँगै लानुपर्दछ । सरकार र संविधान निर्माणको कामलाई अलग्गै लानुपर्छ । जस्तै संविधानसभा भित्र हामीले अहिले सोचेको कुरा भनेको एक महिना भित्र संविधानसभाको नियम बनाउने र त्यस सँगसँगै अन्य अन्तरवस्तुमा छलफल पनि सँगै लैजाने । तर शीर्ष नेताहरु भने नियम अहिले नबनाएर एकै पटक पछि बनाउने भन्दै हुनुहुन्छ जुन गलत छ । त्यस्तै सहमति भएका विषयलाई भाषा मिलाएर ड्राफ्ट गर्दै जाने असहमतिका विषयालाई हल गर्ने कुरा पनि पार्टी गत तहमा छलफल गर्दै जाने । यसरी समानान्तर रुपमा कामलाई अघि बढायौं भने पक्कै पनि समयमा संविधान लेख्न सकिन्छ ।
अहिले पनि समस्या शीर्ष नेताहरुको काम गर्ने शैलीमा नै देखियो । यसलाई परिवर्तन गर्न तपाईंजस्ता युवाहरुको भूमिका के हुन्छ ? केही गरिरहनु भएको छ ?
हामीले दबाब सिर्जना गर्ने कुरा गर्दा संविधानसभा भित्रैबाट दबाब सिर्जना गर्ने प्रयत्न गर्नुपर्छ । अघिल्लो संविधानसभामा हामीले कि त शीर्ष नेताहरुले काम गर्छ भन्ने विश्वासमा चुप लागेर बस्यौं कि हामीले यस प्रक्रियाबाट बाहिर रहेर दबाब सिर्जना गर्ने प्रयत्न गर्यौं । जुन सफल भएन । यस गल्तीबाट हामीले पाठ सिक्नुपर्छ । जस्तै हामीले अहिले संविधानसभाको नियम नबनाई अघि लाने कुरालाई हस्तक्षेप गरिरहेका छौं । त्यस्तै संविधान निर्माण प्रक्रियाबाट बाहिर गएको खण्डमा हामी सामुहिक रुपमा त्यसलाई हस्तक्षेप गरेर पुनः प्रक्रियामा ल्याउने प्रयत्न गर्ने छौं । त्यस्तै हामी दिनको ८ घण्टा काम गरेर भए पनि छलफल गरेर मात्र विषयहरुलाई टुंग्याउने छौं । यसका लागि हामी पार्टी भित्र र संविधानसभा नै दबाब सिर्जना गर्ने छौं । किनभने हामीले एक वर्षमा संविधान बनाउन आएका हौं । त्यही भएर हामीले हाम्रो पूरा शक्ति लगाएर दिन रात भएर पनि यस उद्देश्य पूरा गर्न लाग्ने छौं ।
source:-ratopati.com/2014/02/12/109986.html
0 टिप्पणियाँ: