समलिंगी सम्बन्धलाई नेपालको कानुनले मान्यता दिएको छ, तर समाजमा भने यसलाई विकृतिकै रूपमा लिइन्छ । समलिंगीमा पनि केटी–केटीबीचको (लेस्बियन) सम्बन्ध सहज रूपमा पचाउन मुस्किल नै पर्छ । समाजमा अस्वाभाविक रूपमा लिइने भएकैले कानुनले मान्यता दिए पनि समलिंगीहरू खुलेर आउन सक्दैनन् ।
तर, प्रेमकुमारी नेपाली र रजनी शाही यसमा अपवाद हुन् । उनीहरू आफूहरूबीचको सम्बन्धबारे खुलेर आए, अनि परिवारमै विद्रोह गरेर अहिले ‘लिभिङ पार्टनर’का रूपमा जीवनयापन गरिरहेका छन् । आश्चर्यको कुरा के छ भने आफूलाई समलिंगी बताउने रजनी विवाहित र एक छोरीकी आमासमेत हुन् । आफ्ना श्रीमान््लाई डिभोर्स दिएर अनि फूलजस्ती १० वर्षीया छोरीलाई त्यागेर उनी अर्की महिलासित जीवन बिताइरहेकी छिन् ।
यो जोडी यसरी सँगै बस्न थालेको एक वर्ष बितेको छ । अहिले प्रेमकुमारी लाजिम्पाटमा कफी सप चलाउँछिन् भने रजनी बुटिक चलाउँछिन् । ‘बिहे गरेपछि‘ केही समय हेटौँडा बसेका उनीहरू एक महिनाअघि मात्र काठमाडौं फर्केका हुन् । प्रेमकुमारीले आफ्नै कफी सपमा बसेर नयाँ पत्रिकासित आफूहरूबीचको प्रेमकथा यसरी सुनाइन् :
म अहिले २६ वर्षकी भएँ । स्थायी घर काभ्रे हो । मेरा दुई दिदी, एक दाजु र एक भाइ छन् । पढाइमा रुचि नभएपछि आठ कक्षा पढ्दापढ्दै भागेर काठमाडौं आएकी हुँ । त्यतिन्जेल मलाई आफ्नो फरक यौनव्यवहारबारे कुनै अनुभूति भएको थिएन ।
काठमाडौंको स्वयम्भूमा दिदीहरूसित बस्थेँ । त्यहाँनजिकै मेरो साथीको ब्युटिपार्लरमा गएर दिन बिताउँथँे । त्यही ब्युटिपार्लरमा रजनी शाहीसित चिनजान भयो जो त्यहाँकी नियमित ग्राहक थिइन् । उनी विवाहित थिइन् र श्रीमान््सहित एउटा १० वर्षकी छोरी पनि थिइन् । सामान्य हाई–हेलोबाट सुरु भएको सम्बन्ध गहिरो मित्रतामा परिणत भयो । हामी घनिष्ठ साथी बन्यौँ ।
यत्तिकैमा मेरी दिदी विदेश जानुभएकाले म कोठा सर्नुपर्ने भयो । रजनीकै घरमा दुईवटा कोठा खाली रहेछन् । म त्यहीँ सरेँ । रजनीले घरअगाडि टेलर र कस्मेटिक पसल चलाउन थालेकी थिइन् । म उनकै पसलमा समय बिताउन थालेँ । रजनीको परिवारले यसलाई अन्यथा लिएको थिएन, किनकि दुवैजना केटी थियौँ । हामी पनि सुरुमा साथीकै रूपमा थियौँ ।
०००
हामीबीच धेरै कुरा सेयर हुन्थे । एक दिन रजनीले श्रीमान्बाट आफू सन्तुष्ट नभएको बताइन् । उनले मसित भेट्दा र कुरा गर्दा आफूलाई बेग्लै आनन्द मिल्ने गरेको रहस्य खोलिन् । त्यसपछि त मैले पनि आफूभित्र त्यस्तै महसुस गर्न थालेँ । थाहै नपाई हामी साथीबाट प्रेमीका रूपमा परिणत भइसकेका रहेछौँ । यस्तो प्रेमी जसलाई समाज र परिवारले स्वीकार गर्न सक्दैनथ्यो ।
हाम्रो आकर्षण यति बढ्यो कि दिनभरि भेट हँुदा पनि नपुगेर हामी राति फोन र एसएमएसमा कुरा गथ्र्यौं । हामी दुईबीच शारीरिक आकर्षण सुरु भइसकेको थियो । एक दिन भेट भएन भने छटपटी हुन्थ्यो । हामी घन्टौँसम्म फोनमा कुराकानी गथ्र्यौं । मोबाइलबाटै एक–अर्काको फोटो पठाएर हेराहेर गथ्र्यौं । हामीले आफूहरू दुवैजना समलिंगी भएको यकिन गरिसकेका थियौँ ।
उनी मेरो कोठामा पनि आउने गर्थिन् । सुरु–सुरुमा त एकछिन बसेर जान्थिन् । पछि, लामै समय बिताउन थालिन् । एक दिन हामी टाँसिएर बसेका थियौँ । एक्कासि उनले मलाई अँगालो हालिन् र चुम्न थालिन् । मैले पनि आफूलाई थाम्न सकिनँ । उत्तेजित भएर हामीले सबै किसिमको सम्बन्ध राख्न पुग्यौँ । त्यसपछि त हामीबीच प्रत्येक दिनजसो नै शारीरिक सम्पर्क हुन थाल्यो, त्यो पनि दिउँसै । यौनसम्बन्ध राख्दा रजनी केटाको भूमिकामा हुन्छिन् र म केटीको । करिब डेढ वर्षसम्म यो सिलसिला चल्यो, परिवारले थाहा नपाउने गरी ।
स्वाभाविक रूपमा मसित सम्बन्ध गहिरिँदै जाँदा रजनी श्रीमान्् र परिवारसित भने टाढिँदै आएकी थिइन् । अन्तत: जे हुनु थियो त्यही भयो । उनका श्रीमान्् र परिवारले हाम्रो सम्बन्धमाथि शंका गर्न लागे । अनि उनलाई गाली गर्ने र धम्क्याउन थाले । तर, यसले हामीलाई रोक्न सकेन । हामी एक–अर्काबाट अलग्गिन सकेनौँ ।
०००
उनलाई परिवारले मानसिक सन्तुलन बिग्रिएको भन्दै काउन्सिलिङका लागि तिलगंगास्थित टंकबहादुर आरोग्य केन्द्र लग्यो । थप उपचार गर्न भन्दै उपत्यकाबाहिरका जिल्लामा समेत लगियो । परिवारले साह्रै दु:ख दिएपछि हामी मानवअधिकारवादी संस्था ओरेक हुँदै ‘लेस्बियन’को अधिकारवादी संस्था मितिनी नेपालसम्म पुग्यौँ । १५ दिनसम्म रजनीलाई मितिनी नेपालकै संरक्षणमा राखियो । तर, दबाब आउने क्रम थामिएन । झन् बढ्न थाल्यो । मितिनीले त्यसपछि महिला आयोगको जिम्मा लगायो ।
यसबीचमा रजनीले डिभोर्सका लागि अदालतमा मुद्दा दिइन् । अदालतले उनलाई हाजिर हुन बोलायो । सजिलै अदालत जान सक्ने अवस्था थिएन । प्रहरीकै संरक्षणमा हामी अदालत जान्थ्यौँ ।
२० कात्तिक २०६९ का दिन कानुनी रूपमै हामी एक भयौँ । अदालतले रजनीलाई आफूले चाहेको व्यक्तिसित जीवन बिताउन सक्नै भन्दै हाम्रो मिलनको ढोका खोलिदियो । कानुनले हामीलाई एक बनाए पनि परिस्थिति अनुकूल थिएन । ज्यान मार्ने धम्की बारम्बार आउँथे । विशेषगरी रजनीका आफन्तबाट । मुद्दा फैसलापछि अदालतबाट बाहिरिनेसम्मको स्थिति थिएन ।
खतराको विश्लेषणपछि प्रहरीले स्कर्टिङमै हामीलाई वासस्थान पुर्यायो । भाटभटेनीस्थित मितिनी नेपालको कार्यालयमा हाम्रा लागि वासस्थान तय भएको थियो । हामी त्यहीँ गयौँ र बस्न थाल्यौँ । तर, खतराले हामीलाई पछ्याउन छाडेन । ज्यान मार्ने धम्की आइरह्यो । सडकछेउमै थियो कार्यालय । हामी सडकमा नियाल्थ्यौँ । मध्यरातमा पनि अपरिचित झुन्ड दायाँ–बायाँ गरेको देखिन्थ्यो ।
कोठाबाहिर निस्कन सक्ने स्थिति नभएपछि काठमाडौं त्याग्ने निर्णयमा पुग्याँै, हामी । तर, कहाँ जाने ? ठेगान थिएन । पैसा पनि थिएन । त्यसैले बडो अन्योलमा परियो । मितिनी नेपालकी दिदी लक्ष्मी घलान हाम्रो साथ थिइन् । उनकै पहलबाट हामीले कानुनी लडाइँ जितेका थियौँ । हामीले भोगिरहेको परिस्थितिबारे दिदी काफी जानकार थिइन् । काठमाडौं हाम्रा लागि खतरा थियो । जति सक्दो चाँडो काठमाडौं त्याग्ने पक्षमा थियौँ हामी ।
०००
केही दिनको काठमाडौं बसाइपछि हेटौँडा जाने तय भयो । लक्ष्मी दिदीले हाम्रा लागि कोठा खोजिसक्नुभएको रहेछ । हामी त्यहीँ गयौँ । पास त मिल्यो, तर गाँसको व्यवस्था अझै टुंगो लागिसकेको थिएन । लक्ष्मी दिदीकै पहलमा हामीले हेटौँडामा टेलर खोल्यौँ ।
हामी हेटाँैडाका लागि नयाँ थियौँ, हेटौँडा हाम्रा लागि नयाँ । त्यसैले सुरुका दिनमा निकै गाह्रो भयो, एड्जस्ट हुन । गहना बेचेर खोलेका थियौँ टेलर । तर, सोचेजस्तो गरी टेलर चलेन । जीवन चलाउन पैसा नै चाहिने रहेछ भन्ने महसुस पहिलोपटक गर्याँै हामीले । तर, हामीले हरेस खाएनौँ । किनकि, हामीसँग पैसाको मात्रै अभाव थियो, मायाको होइन ।
टेलर बेच्यौँ र कफी सप खोल्यौँ । त्यसबाट भने गजबको फाइदा भयो । कफी सपमा हरेका खालका ग्राहक आउने । बाहिरबाट हेर्दा हामी केटी थियौँ । हाम्रो समलिंगी सम्बन्धबारे उनीहरूलाई थाहा थिएन । त्यही भएर होला, केटा ग्राहक हामीसँग अबेरसम्म गफिन खोज्थे । ग्राहकका नाताले हामी उनीहरूलाई ‘इग्नोर’ गर्न पनि सक्दैनथ्यौँ । त्यहीमध्ये एक युवक त मलाई मन पराउन पो थालेछ । सधैँ गफिन खोज्थ्यो । कतिसम्म भने भाँडा माझ्दासमेत मेरो पछि–पछि लाग्थ्यो । पछि, मैले उसलाई सबै कुरा भनेँ । ऊ आफैँ साइड लाग्यो । रजनीका पछि लाग्ने पनि थिए । उनी पनि त्यस्तै गरी पन्छाउने गर्थिन् ।
कफी सपनजिकै फिल्म हल थियो । हामी हलमा चलेको फिल्न नछुटाई हेथ्र्याैं । कसैका लागि कमाउनुपर्ने बाध्यता थिएन हामीसँग । त्यसैले हामी जतिसक्दो धेरै घुम्ने, फिल्न हेर्ने र रमाइलो गर्ने गरेर जीवनलाई अघि बढाउने प्रयत्नमा जुट्यौँ ।
०००
एकवर्षे हाम्रो पार्टनरसिपमा हामीलाई दु:खी तुल्याउने एउटै कारण रह्यो । त्यो हो– रजनीकी छोरी । ११ वर्षकी हँुदा छोडेकी थिइन् रजनीले छोरी । अन्तर्मुखी स्वभावकी छिन् रजनी । त्यसैले मसँग उनले कहिले पनि छोरीको याद आएकोबारे गुनासो गरिनन् । तर, म उनको मनोभाव बुझ्थँे । फोन गर भन्थेँ, तर उनी सक्दिनथिन् ।
जनावरसँग मानिसको मन साटिएको हुन्छ भने रजनी त आमा थिइन् । त्यसैले छोरीको याद आउनु स्वाभाविक नै थियो उनका लागि । उनी दु:खी भएको म हेर्नै सक्दिनँ । मेरो अन्तिम लक्ष्य भनेकै उनलाई खुसी पार्नु हो । छोरीको मायामा जलेकी उनलाई शतप्रतिशत खुसी दिन काठमाडौं फर्कनुको विकल्प मैले देखिनँ । परिस्थिति पनि पहिलेको तुलनामा निकै परिवर्तन भएको महसुस हामीले गर्यौँ । अन्त्यमा काठमाडौं फर्कने निधोमा पुग्यौँ ।
जीवन गुजाराका लागि हामीले अहिले लाजिम्पाटमा कफी सप खोलेका छौँ । रजनी बुटिकमा काम गर्छिन् । म कफी सप चलाउँछु । भर्खर एक महिना बितेको छ हामी काठमाडौं आएको । यसबीचमा रजनीले छोरीलाई चारपटकभन्दा धेरै भेटिसकेकी छिन् । तर, घर जाने स्थिति छैन । विद्यालयमै भेट्ििछन छोरीलाई । अहिले छोरी १२ वर्षकी भइन् ।
सम्पत्तिका लागि प्रेमकुमारीले यसो गर्न लागेकी भनेर धेरैले आरोप लगाए । तर, म उनीसँगै बस्न खोज्नु सम्पत्तिका लागि थिएन । अदालतमा पनि मैले त्यही वेला भनेकी थिएँ, ‘मलाई सम्पत्ति चाहिँदैन ।’ त्यही भएर मैले रजनीलाई लैजाँदा एक धरो कपडासम्म पनि सँगै लगिनँ । अहिले पनि मैले केही लिएको छैन । हामीले चाहेजसरी जीवन बिताइरहेका छौँ । यो सबै हाम्रै पौरखले सफल भएको हो । मलाई लाग्छ, जीवन रंगिन छ, रंगको पहिचान गर्ने जिम्मा भने हाम्रै हो ।
- टेकराज थामी http://nayapatrika.com
0 टिप्पणियाँ: