स्वर्ग अन्त कतै छ भने त्यो नेपालमा छ- पर्वतारोही अम होङ गील

दक्षिण कोरियाली पर्वतारोही अम होङ गील संसारका ८ हजार मिटर भन्दा अग्ला १६ हिमालहरु सफलतापूर्वक आरौहण गर्ने पहिलो ब्यक्ति हुन् । सन १९८५ बाट आरोहण यात्रा शुरु गरेर २००७ मा लक्ष्य पूरा गरेका उनलाई ‘ट्यांक अफ द हिमालयाज’ उपनामले पनि चिनिन्छ । कोरियाली संचार माध्यमहरुमा नेपालको प्रकृति, संस्कृति र जैविक विविधताको प्रचार प्रसारमा अहम भूमिका खेल्दै आएकाले नेपाल भित्रिने कोरियाली पर्यटक वृद्धिमा उनको योगदान प्रमुख मानिएको छ । बिगत २८ बर्षदेखी नेपाल यात्रा गरिरहेका गीलले नेपाललाई दोश्रो जन्मभूमि मान्दै आएका छन् । नागरिक स्तरमा नेपाल र कोरियाको सम्बन्ध विकासमा समेत उनको भूमिका उल्लेखनीय रहेको छ । दक्षिण कोरियाको ब्लु हाउस राष्ट्रपति कार्यलयसंग राम्रो सम्बन्ध भएका गील २०१० बाट नेपालमा १६ विद्यालय स्थापना गर्ने अभियानमा छन् । यसै सन्दर्भमा उनीसंग देवेन्द्र सम्बाहाम्फेले गरेको कुराकानी :



तपाईको बाल्यकाल कसरी बितेको थियो बताई दिनुस ?
मेरो जन्म १९६० सेप्टेम्बर १४ मा ख्यङसाङ नाम्दो कोसङमा भए पनि म तीन बर्षको हुंदा आमा बुबा ख्यांगीदो वाईजङबो वन्दोङ पहाडको बसाइ सर्नु भयो । त्यसैले मेरो बाल्यकाल त्यहि पहाडको फेदीमा बित्यो । घरको आर्थिक स्थिति कमजोर भएकाले आमाबुबाले त्यहाँ पहाड चढ्नेहरुका लागि आवश्यक सामग्री बेच्ने सानो स्टोर संचालन गर्नु भएको थियो । मैले त्यहि गाउँको बिद्यालयबाट माध्यमिक स्तरको पढाई सकेको थिएँ । गाउँ दुर्गम र आर्थिक स्थिति नाजुक भएकाले मेरो बाल्यकाल दुःख मै बित्यो ।
हिमाल चढ्ने प्रेरणा कसरी पाउनु भएको थियो ?
वन्दोङ पहाड कोरियाकै नाम चलेको पहाड भएकाले हप्ताको अन्त्यमा विभिन्न ठाउँबाट रक क्लाइम्बिङ गर्न मान्छेहरु आउने गर्थे । उनीहरुको कला मलाई बढो रमाइलो लाग्थ्यो । त्यसैले निम्न माध्यमिक पढ्दै मैले पनि रक क्लाइम्बिङ सिक्न शुरु गरें । त्यसैको प्रभावले पछि हिमाल चढ्ने प्रेरणा मिल्यो ।
सगरमाथा आरोहण यात्रा कसरी शुरु भयो ?
सन् १९७५ सेप्टेम्बर १५ को दिन कोसाङ दोन पहिलो कोरियाली नागरिकको रुपमा सगरमाथा शिखरमा पुगेका थिए । त्यो दृश्य मैले टेलीभिजनमा हेरेको थिएँ। सगरमाथाको नाम पनि त्यहि दिन सुनेको थिएँ । त्यो दृश्य देखेर संसारमा यति सुन्दर हिमाल पनि रहेछ जस्तो लाग्यो र त्यहि दिन मैले सगरमाथा आरोहण गर्ने अठोट गरें । त्यसपछि प्रशिक्षण लिएर पहिलो पटक १९८५ को हिउद याममा आरोहण गरें तर असफल भएँ । त्यसको ठिक एकबर्ष पछाडी दोश्रो पटक आरोहण गरें । यो पटक पनि असफल मात्र होइन सहयोगी दोर्जे शेर्पा डोरी चुडिएर दुर्घटनामा पर्नु भो । उहाको लाश अझै पाइएको छैन । आफ्नै आँखाको अगाडी साथी गुमाएपछि मानसिक रुपमा निक्कै विक्षिप्त भएँ । आरोहण यात्रा त्यागौ की जस्तो लागेको थियो तर पनि लक्ष्यबाट भाग्नु हुन्न भन्ने लाग्यो त्यसैले तेश्रो पटक १९८८ को शरद याममा आरोहण गरें र सफलता हासिल गरेको थिएँ ।
सगरमाथाको शिखरमा पुगेको क्षण कस्तो अनुभूति भयो ?
ओह ..ओह ..त्यो क्षणको खुशी म शब्दले ब्यक्त गर्न सक्दिन । सार्है गौरब लाग्यो । चुचुरोलाई पटक पटक चुमे ।
संसारका १६ अग्ला शिखरहरु चढ्ने योजना चाही कहिले कसरी बनेको हो त ?
सगरमाथा तीन पटक आरोहण गर्दा साथी गुमाए भने धेरै मानसिक कस्ट पनि भयो तर म जहिले हिमाल चढ्ने मौका पर्खेर बस्ने भएकाले १९९३ मा चोयु र सिस्याफाङमाको सफल आरोहण गरें । यहाँसम्म आइपुग्दा १४ अग्ला हिमालहरु चढ्नुपर्छ भन्ने कन्सेप्ट विकास भएको थिएन । सन् १९९५ मा स्पेनिश साथीसंग मकालु आरोहण गरेर फर्कने क्रममा १४ हिमालहरु चढ्ने योजना बन्यो । त्यो लक्ष्य २००० मा पुरा गरें । २००४ मा यालुङकाङ र २००७ मा लोत्सेस्यारोको सफल आरोहण गरेर संसारका १६ अग्ला हिमाल चढ्ने संसारको पहिलो बन्न सफल भएँ ।
 प्राणलाई बाजी राखेर हिमाल अरोहणमा निस्कंदा परिवारले के भन्नुहुन्थ्यो ?
हिमाल आरोहण गर्नु वास्तबमै धेरै जोखिम काम हो । त्यसैले परिवारलाई चिन्ता हुनु स्वाभाविकै हो । तर पनि मेरो मन मस्तिष्कमा नेपाली हिमालहरुको प्रगाढ छाप परेकाले मेरा आँखाले हिंउको दृष्य बाहेक अरु केहि देख्दैनथ्यो । मेरो सपना मेरो लक्ष्य ती हिमालहरुमा भएकाले म कसैको कुरा सुन्ने पक्ष मै थिइन । त्यो बुझेर पनि परिवारले इन्कार गरेनन् ।
हिमाल आरोहणको २२ बर्ष करियरमा थुप्रै साथीहरु पनि गमाउनु भयो नि ?
(लामो उच्छवास छोड्दै ) मेरो हिमाल आरोहण्ँ यात्रा १९८५ शुरु भएर २००७ मा रोकिएको छ  । त्यो २२ बर्ष अवधिमा ८ हजार मिटर भन्दा उचाईका हिमालहरुको आरोहण प्रयास ३८ गरेको थिएँ तर २० पटक मात्र सफलता हासिल गरे । सगरमाथामा शिखरमा मात्र तीन पटक पुगेको थिएँ । मैले आफ्नो लक्ष्य पुरा गरे पनि यो अवधिमा १० जना सहयात्रीहरु गुमाएँ । यी मध्ये ४ जना शेर्पा र ६ जना कोरियन छन् । (फेरी लामो उच्छवास छोड्दै )आङ्खनो आँखा अघि नै साथी दुर्घटनामा पर्दा सार्है मर्माहत हुन्थे । त्यो क्षण कसैले चाहेर पनि सहयोग गर्न नसक्ने अवस्था हुन्थ्यो । ती घटनाहरुको व्याख्या गर्ने शब्द नै छैनन् । एक प्रकारले हेर्ने हो भने म यसरी जीवित नहुनु पर्ने मान्छे हो । धेरै साथी र शुभ चिन्तकहरुले म बच्नुलाई आश्चर्य मानेका छन् । त्यति जोखिम हुदाहुंदै म बाँच्नुलाई मैले हिमालयको देन र प्रेम सम्झेको छु ।
३८ पटकसम्म प्रयास गर्नु भएछ सबैभन्दा गार्हो कुन हिमाल लाग्यो तपाईलाई ?
हिमाल आरोहण सजिलो वा कठिन हुने भन्ने कुरा त्यतिबेलाको मौसमले निर्धारण गर्दछ । सजिलो हिमाल पनि मौसमले गर्दा कठिन र कठिन मानिएको हिमाल पनि मौसमले गर्दा सहज हुन्छ । यति हुँदाहुंदै पनि अन्नपुर्ण आरोहण गर्दा धेरै कठिन भयो । यसमा धेरै पटक असफल पनि भएँ । यसैमा धेरै दुर्घटना र जोखिम पनि भोगें । मेरो आँशु पनि यसैमा धेरै झर्यो ।
कोरियाली संचार माध्यमहरुमा नेपाललाई दोश्रो जन्मभूमी भन्नु भएको छ नि ?
म कोरियामा जन्मिए पनि मेरो जीवनको महत्वपुर्ण समय नेपाल मै बित्यो । अर्थात मेरो जवानी वा आधा जिबन नेपालकै पाखा पखेरा र हिमछायामा बित्यो । अर्कातिर नेपालका हिमश्रृंलाहरुले नै मलाई संसारमा चिनायो । अहिले पनि यो उकुश मुकुश शहरीया जिबन छोडेर नेपालको हिमाली क्षेत्रमा हिउ खेल्दै, हिंउ हेर्दै बस्न मन लागिरहेको छ । यसैले म गर्ब साथ भन्दै आएको छु – नेपाल मेरो दोश्रो जन्मभूमि हो ,दोश्रो देश हो र दोश्रो घर हो ।
(गलातिर औल्याउदै) यो माला नि ?
यसलाई जी माला भन्छन् । यो मेरो जिवनलाई रक्षा गर्ने कवच हो । यो मैले नेपालको मनास्लु क्षेत्रमा पाएको हुँ । यसका दुईवटा आखालाई भगवान बुद्धको आँखा मानिन्छ । यसले मलाई मान्छेले दिन नसक्ने शक्ति र सुरक्षा दिइरहेको हुन्छ ।
नेपालमा विकास कसरी सम्भव होला ?
हामी सबैलाई थाहा भएको कुरा के हो भने कुनै पनि देश विकासित र समृद्ध हुन त्यस देशको राजनीतिमा भरपर्दछ । त्यति नै दलका नेता र कार्यकर्तामा देश र जनताप्रतिको प्रेम हुन जरुरी छ । व्यक्तिगत लाभका लागि गरिएको राजनीतिले समाज र देशको उत्थान गर्न सक्दैन । नेपालमा लामो समयदेखि राजनीतिक अस्थिरता रहेको छ । यो नेपाल र नेपाली लागि निक्कै हानिकारक पनि छ । देश सुधार्ने सन्दर्भमा ‘स्ट्रङ लिडरसीप’को आवस्यकता पनि जरुरि हुन्छ । दक्षिण कोरियामा पार्क जङ हि जस्ता ‘स्ट्रङ लिडरसीप’ भएको नेता नजन्मिएको भए आज हामी यो अवस्थासम्म आइपुग्ने थिएनौं । म नेपालको सुख र समृद्धि चाहने मान्छे भएकाले नेपालमा ‘स्ट्रङ लिडरसीप’को आवश्यकता देखेको छु ।
नेपालमा बिद्यालय बनाइरहनु भएको छ । यो कसरि तर्जुमा भएको योजना हो ?
संसारका सबै भन्दा अग्ला १६ हिमालहरु सफलतापूर्वक आरोहण्ँ गरेको अर्थमा मैले नेपालको दुर्गम क्षेत्रमा १६ वटा प्राथमिक बिद्यालयहरु निर्माण गर्ने योजना बनाएको हुँ । वास्तबमा नेपाली हिमालहरु कै कारणले मैले विश्व कीर्तिमान कायम गर्न पाएको हुँ । त्यसैले मेरो सफलताको श्रेय नेपाली हिमाललाई दिने गरेको छु । हिमाल आरोहण गर्न शुरु गरेदेखि नै सफलता पाए नेपालको लागि केहि गरिदिन्छु भनेर ति हिमालहरुसंग बाचा गरेको थिएँ । त्यहि बाचा पुरा गर्न यो अभियानमा लागि रहेको छु । यो अभियानलाई मैले हिमाल चढ्नु जतिकै चुनौतीको रुपमा लिएको छु । यसका लागि २००८ को मे २८ मा अम होङ गील ह्युमन फाउन्डेसन स्थापना गरेको छु । यो फाउन्डेसन मार्फत सबै काम भइरहेको छ ।
नेपाललाई अरु हिसाबले पनि त सहयोग गर्न सक्नु हुन्थ्यो नि । किन बिद्यालय स्थापना गर्ने अभियान नै चलाउनु भयो ?
हो, मैले नेपाललाई अरु भौतिक बिकासका पूर्वाधार निर्माण गरि दिएर पनि सहयोग गर्न सक्थें । तर बिद्यालय स्थापना गर्नुको दुइवटा कारण छन् । मैले नेपाल यात्रा गर्न शुरु गरेको २८ वर्ष  भयो । यो अवधिमा विभिन्न दुर्गम क्षेत्रहरुको यात्रा गर्ने मौका पाए । ती क्षेत्रका धेरै बालबालिकाहरु शिक्षाबाट बन्चित भएको पाएँ । त्यसैले ती नानीहरुलाई राम्रो र स्तरीय शिक्षा दिने पहिलो लक्ष्य हो मेरो । दोश्रो चाही राम्रो शिक्षाका दिएर नेपालमा असल नागरिक, कर्मचारी, कार्यकर्ता र नेता जन्मन सकुन भन्ने लिएको छु ।
यो योजना कहिले पुरा होला ?
२०१० मा पहिलो बिद्यालय सोलुखुम्बुको पाङबोचेमा स्थापना गरेको थियौं । हालसम्म चारवाट  विद्यालयको स्थापना गरिसकेका छौं । त्यस्तै पाँचौ, छैटौं विद्यालयको निर्माण कार्य २०१४ को मार्चमा पुरा गर्ने योजना रहेको छ । छैटौ बिद्यालय राष्ट्रपति रामवरण यादवको गाउँमा निर्माण भइरहेको छ । सातौ र आठौ विद्यालयको क्षेत्र पनि छनौट भइसकेकाले यसै वर्षदेखि निर्माण शुरु गर्नेछौ । यहि क्रमले आगामी पाँचदेखि आठ बर्षभित्रमा १६ वटा विद्यालय स्थापना गरिसक्ने योजना रहेको छ ।
यसरि धेरै समयावधि लाग्नुको कारण पनि छ । हामीले निर्माण गरेका बिद्यालयहरु एनजीओ र आइएनजीओले निर्माण गरिदिए भन्दा फरक हुन्छन् । हामीले भवन निर्माण गर्दा त्यस क्षेत्रको तापक्रम, भू वनोट, मौसमलाई आधार मानेर डिजाइन गर्ने गरेका छौं । त्यसैले प्रत्येक बिद्यालयको भवनहरुको बनोट फरक फरक हुने गरेको छ । त्यस्तै भवनमा प्रयोग हुने समानहरुको प्रयोगमा पनि ध्यान दिने गरेका छ । त्यति मात्र नभएर बिद्यालयमा पुस्तकालय, कम्प्युटर, खेल मैदानको समेत ब्यवस्था गरिदिने गरेका छौं । त्यसपछि पनि लगातार हेरचाहर गर्ने, निगरानी गर्ने गरेका छौं । भौतिक संरचनाहरु बिग्रे भत्किए पुन निर्माण गरेका छौ । अर्को कुरा जुन जुन क्षेत्रमा स्थापना गरेका छौ, ती क्षेत्रमा कोरियाबाटै चिकित्सक र औषधि लगेर हेल्थ क्याम्पहरु संचालन गरेका छौ ।
विद्यालय स्थापना गर्ने क्षेत्रको छनौट चाही कसरी गर्नु हुन्छ नि ?
यहि अभियानका लागि काठमाण्डौमा अम होङ गील ह्युमन फाउन्डेसनको शाखा स्थापना गरेका छौ । त्यहाँ हाम्रो निर्देशक हुनुहुन्छ । बिभिन्न जिल्ला र गाउंबाट आएको मागलाई हेरेर उहाँ ती ठाउंहरुमा प्रत्यक्ष अवलोकन गर्नुहुन्छ । साच्चै आवश्यक भएको ठहर भएपछि क्षेत्रमा बिद्यालय स्थपना गर्दछौ । छनौटमा परेको क्षेत्रका जनताले जमिन उपलब्ध गराउने र अप्राविधिक काम सघाउनु पर्ने हाम्रो शर्त रहेको छ ।
नेपालको लागि यति मरिहत्ते गर्नुहुन्छ, नेपाल सरकारले चाही तपाईलाई के दिएको छ ?
नेपाल सरकारबाट मैले केहि पाएको छैन । दिन्छन् वा पाइन्छ भन्ने आशाले मैले यो काम गरेको नभएर नेपाल र नेपालीको उन्नति होस भनेर गरेको हुँ ।
  तपाई ‘ब्लु हाउस’संग पनि नजिक हुनुहुन्छ । उसले नेपाललाई कसरि हेरेको पाउनुभयो ?
राष्ट्रपतिहरुसंग मेरो राम्रै सम्बन्ध छ । पूर्व राष्ट्रपति ली म्यङ वाकसंग देश बिदेशमा पदयात्रा पनि गरेका थियौं । उहाहरुले बिशेष गरेर लुम्बिनीको विकासमा चासो राख्नु भएको पाएको छु । समग्रमा बिकसन्मोख राष्ट्रहरुलाई सहयोग गर्नुपर्छ भन्ने धारणा छ, उहाँहरुको । त्यसै अनुरुप कोइकाले दिने आथिर्क सहयोग गत बर्षबाट बृद्धि गरिएको हो । दुइ देशबीचको सम्बन्ध नजिक हुनसके नेपाललाई नै फाइदा हुनसक्छ भन्ने मेरो ठहर छ ।
अन्त्यमा नेपाली जनता र सरकारलाई के भन्न चाहनुहुन्छ ?
नेपाल प्राकृतिक, साँस्कृतिक र जैविक बिबिधता सम्पन्न देश भएकाले मेरो दृष्टिमा स्वर्ग अन्त कतै भए त्यो नेपालमा छ । यस्ता अमुल्य सम्पदाहरु जोगाउनु नेपाली जनता र सरकारको कर्तव्य हो । नेपाली जनता सधै सुखी र समृद्ध बनुन् भन्ने मेरे मेरो उत्कट चाहाना छ ।
- पुरू जोशी, Nepal Korea News.com