सिम बिक्री गर्दै हुनहुन्छ, ध्यान दिनु होला । नभए बुटलबका न्यु अर्याल मोबाइल हाउसका संचालक पिताम्बर अर्याल जस्तै जेल जान पर्ला ।
सामान्य गल्तीका कारण उनी कपिलवस्तु कारागारमा थुनामा गएका छन् । एक सय रुपियाँको लोभले गर्दा उनी कपिलवस्तु जिल्ला अदालतबाट पुर्पक्षका लागि थुनामा गएका छन् ।
अर्यालले नागरिकताको प्रमाण नै नलिई गैरकानुनी रुपमा गुल्मीका प्रकाश पौडेल र प्युठानका नगेन केसीलाई गत कात्तिक २६ मा एनसेलको सिम बिक्री गरेका थिए । एक सयको सिम उनले दुई सयमा बिक्री गरेका थिए । पछि प्रमाण ल्याए बढी लिएको एक सय फिर्ता दिने शर्त भए पनि पौडेल र केसी आएनन् । बरु उनीहरुले ९८१४४९७११५ नम्बरको सिमलाई एक अपहरित बालकको फिरौती लिन प्रयोग गरे । फिरौती रकमका कुरा गर्न मात्र उनीहरुले उक्त मोबाईल प्रयोग गर्दथे । अन्य बेला भने उनीहरुले मोबाईलको स्विच अफ गरेर राख्थे । पछि प्रहरीले अनुसन्धान गर्दै जाँदा उक्त नम्बरको मोबाइल बुटलबस्थित पुरानो बस पार्क नजिक रहेको न्यु अर्याल मोबाइल हाउसबाट लिएको थाह भए पछि प्रहरीले संचालक अर्याललाई पक्राउ गरेको थियो ।
यता सिम किनेर जानेहरु नागरिकता लिएर नआए पछि अर्यालले आफनै पसलबाट सिम लिएर गएका गुल्मीका ताराबहादुर तरामको नागरिकताको फोटो कपी राखेर काजग मिलाएका थिए । पौडेल र केसी सिम किन्न आई हतार छ काठमाडौं जानु छ कागज पछि ल्याउला भन्दै अनुनय बिनय गरे पछि आफुले एक सय बढी लिई सिम दिएको संचालक अर्यालले बताए । पछि उनीहरुले यसैलाई दुरुपयोग गरे पछि अहिले बेकसुर दुःख पाएको छु उनले भने । अहिले उनी अपहरण तथा शरिर बन्धक मुद्दा अन्तर्गत पुर्पक्षका लागि थुनामा गएका छन् ।
गत मंसिर पहिलो साता जिल्लाको चनई गाबिस-५ खरेन्द्रपुरबाट माधब जिसीका दुई बर्षे बालक दिपेन्द्र जिसीको अपहरण भएको थियो । पछि परिबारलाई अर्यालले नै बिक्री गरेको सिमबाट अपहरणकारीले फोन गरी फिरौती माग गरेका थिए । दुई बर्षे बालक अपहरणमा संलग्न रहेको अभियोगमा उनीसंगै अन्य ४ जना पनि पुर्पक्षका लागि थुनामा गएका छन् ।
.(पुरानो घटनाको उदाहरण प्रस्तुत गरिएको )
0 टिप्पणियाँ: