उपल्लो अस्ताममा उमंग"'म स्विजरल्यान्ड पनि गएको छु तर यो गाउँ स्विजरल्यान्ड भन्दा पनि धेरै सुन्दर रहेछ"-राजेन्द्र


धिताल (कास्की), श्रावण २४ - घरदैलोअघि फिल्मको केन्द्रीय स्टुडियो बन्ने खबरले गाउँले दंग छन् । सरकारले चलचित्र नगरी घोषणा गरेको पोखरादेखि ३० किमि उत्तर-पश्चिम गाउँका बासिन्दा सोमबार चलचित्र विकास बोर्डका पदाधिकारी र चलचित्रकर्मीहरू पुग्दा गदगद देखिए । धिताल गाविस-८ उपल्लो अस्तामको ३ सय रोपनीभन्दा बढी सरकारी जग्गा स्टुडियोका लागि छनोट गरिएको छ ।
चलचित्र विकास बोर्डका अध्यक्ष गणेश भण्डारी, अखिल नेपाल चलचित्रकर्मी संघका अध्यक्ष शिव लामिछाने, द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलगायतले स्टुडियो निर्माणस्थलमै पुगेर निरीक्षण गरे ।
उनीहरू गाउँमा पुग्दा बारीमा घाँस काट्दै र खेतमा काम गर्दै गरेका गाउँलेहरू सबै चटक्कै काम छाडेर छलफलमा भाग लिन आएका थिए । फिल्म स्टुडियो बनेपछि गाउँको विकासका साथै विदेशसम्म प्रचारप्रसार हुने गाउँलेले विश्वास व्यक्त गरे । 'प्राकृतिक रूपमा वरदान मानिएको गाउँ भएर पनि पिछडिएको थियो,' स्थानीय नन्दलाल अधिकारीले भने, 'जे भए पनि फिल्म स्टुडियो निर्माण भएपछि गाउँलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत गर्नेछ ।'
गाउँमा चलचित्र स्टुडियो निर्माण गर्ने आएका चलचित्रकर्मीसँग गाउँका बालबालिका, युवा तथा वृद्धवृद्धा सबै भेला भएका थिए ।
चलचित्र विकास बोर्डका अध्यक्ष भण्डारीले धिताल गाउँ पर्यटकीय , प्राकृतिक र भौगोलिक दृष्टिकोणले पनि उपयुक्त भएकाले केन्द्रीय स्टुडियोका लागि छानेको बताए । उनले भने, 'पोखरादेखि पनि नजिक र स्टुडियो निर्माणका लागि जग्गा पनि पर्याप्त छ ।'
स्थलगत र प्रारम्भिक धारण बुझ्न आएको बोर्डले स्टुडियो बनाउन तीन वर्षीय योजना बनाएको छ । चलचित्र स्टुडियो बनाउन मात्रै २ अर्ब रुपैयाँको योजना अघि सारिएको भण्डारीले जानकारी दिए ।
जग्गा छनोट गरेपछि तारबार गर्ने र स्टुडियोका लागि भौतिक निर्माणको काम अघि बढाइने भण्डारीले उनले बताए ।
उनले यसअघि चलचित्र सुटिङका लागि आउने चलचित्रकर्मीहरूका लागि भौतिक आर्थिक र सुरक्षाको व्यवस्थासँगै छायांकन शुल्क सहुलियत रूपमा उपलब्ध गराइने बताए । यहाँ केन्द्रीय स्टुडियो निर्माण भएपछि सुदूर र सुदूरपश्चिमको कोहलपुर र सुदूरपूर्वको झापा र मोरङमा क्षेत्रीय फिल्म स्टुडियो निर्माणको योजनासमेत अघि सारेका छौं,' भण्डारीले भने ।
स्टुडियो निर्माणको काम सकिएपछि बलिउडको मुम्बईजस्तै सिनेमाको सबै गतिविधि पोखराबाटै सञ्चालन हुने भएको छ ।
धेरै ठाउँमा जग्गा हेरिए पनि स्टुडियो निर्माणका लागि हरेक तवरबाट यो गाउँ उपयुक्त देखियो,' अखिल नेपाल चलचित्रकर्मी संघका अध्यक्ष लामिछाने भने, 'यो गाउँमा स्टुडियो निर्माण भएपछि अन्तर्राष्ट्रिय चलचित्र छायांकनका लागि पनि गन्तव्य बन्न सक्छ ।'
तीन वर्षअघि उनको पहलमा विदेशी चलचित्रकर्मीको एक टोली यही गाउँमा आएर बुद्ध फिल्म सुटिङको स्टुडियो बनाउने पहल भए पनि त्यो प्राविधिक कारणले रोकिएको थियो । यसपटक भने नेपाली फिल्मको केन्द्रीय स्टुडियो नै बन्न भएपछि चलचित्रकर्मीहरूलाई पनि हषिर्त बनाएको उनले बताए ।
दुई साताअघि फिल्म स्टुडियो निर्माणका लागि छलफलका लागि आएको विकास बोर्ड तत्काल निर्माणको काम सुरु गर्न पुनः यहाँ आएको हो ।
धेरै पहिलादेखि सिनेमा छायांकनका लागि प्राकृतिक स्टुडियोको रूपमा चिनिएको पोखरालाई चलचित्र नगरीको रूपमा सरकारले घोषणा गरेपछि भने यतिबेला स्थानीय पनि स्टुडियो निर्माणका लागि जुट्न थालेका हुन् । 'अब हामी आफ्नो गाउँलाई चलचत्रि स्टुडियोमार्फत अन्तर्राष्ट्रियस्तरमा चिनाउन कम्मर कसेर लाग्नेछौं,' स्थानीय पर्यटन व्यवसायी छविरमण पौडेलले भने, 'सरकारको काममा हामी स्थानीय एकजुट भएर लाग्नेछौं ।'
यो गाउँबाट एक साथ अन्नपूर्ण रेन्ज, झरना खोलालगायत प्राकृतिक मनोरम दृश्यसँगै फेवाताल र कास्कीका २२ गाविसको दृश्यावलोकन गर्न सकिन्छ ।
गाउँ पुगेका राजेन्द्र खड्गीसमेत केन्द्रीय स्टुडियोका लागि उक्त गाउँ अति नै उपयुक्त भएको बताए । 'म स्विजरल्यान्ड पनि गएको छु तर यो गाउँ त्योभन्दा पनि धेरै सुन्दर रहेछ,' उनले भने, 'चलचित्र स्टुडियो निर्माणका लागि स्थानीय पनि जुटनैपर्छ ।'
भारतको राजधानी नयाँदिल्ली भए पनि त्यहाँ सिनेमाको सबै गतिविधि मुम्बईबाट हुने गरेका छन् । त्यही सन्दर्भ यहाँ पोखरासँगै गाँसिन आउँछ । पछिल्लो क्रममा राजधानीबाट वर्षेनी बन्ने ४० चलचित्रमध्ये ५० प्रतिशतभन्दा बढी सिनेमाहरू छायांकनका लागि पोखरा र यसैको सेरोफेरोमा हुँदै आएको छ । तीसको दशकदेखि सिनेमा छायांकनको क्रम यहाँ सुरु भएको हो ।