अब स्मार्ट होम

घर पनि स्मार्ट ? मोबाइल, टिभी, घडीलगायतका डिभाइस स्मार्ट भइरहेका बेला घर मात्र कसरी अछुतो रहला र ! घरलाई स्मार्ट बनाउने प्रविधिको विकास गरेका छन् इलेक्टि्रकल, इलेक्ट्रोनिक्स र कम्प्युटरका विद्यार्थीले ।



तपाईं बिहान मिटिङमा जानु भएको छ । मिटिङ सकिन ढिला भयो । घर फर्केर अफिस जानु पर्ने । खाना पकाउनै छ । चिन्ता नलिनुस् । बिहानै चामल भिजाइओरी राइसकुकर बिजुलीको प्लगमा जोडेर छाड्नुस् । लाइन भने अफ राख्नुस् । मिटिङबाट निस्कनुअघि मोबाइलबाटै राइसकुकर अन गर्ने अर्डर गर्नुस् । घर पुग्दा खाना पाकिराखेको हुन्छ । खानुस्, कार्यालय जानुस् ।

ट्यांकीमा पानी सकिएको छ । लाइन दिउँसो २ बजे आउँछ । त्यतिखेर तपाईं अफिसमा हुनुहुन्छ । कार्यालय बिदा लिएर आउनु कि पानी तान्ने मोटर जोडेर छाड्नु ? दुवै कुरा तपाईंका लागि असंभवजस्तै छ । पख्नुस् । कार्यालयबाटै मोटर चलाएर ट्यांकी भर्न सक्नु हुन्छ ।

घरबाट निस्कँदा वत्ती, फ्यान अफ गर्न बिर्सनु भयो ? फर्केर आउन तत्काल असम्भव होला ? साँझ घर र्फकन ढिला भयो । घरमा बत्ती बाल्नु पर्ने । यस्ता समस्या हरेक घरले भोगेको हुन्छ । ती सबै कुराको समाधान छ नेशनल कलेज अफ इन्जिनियरिङका केही प्रमोद खड्का र समिरा शर्माको स्मार्ट होम प्रोजेक्टमा ।

मोबाइलमा एउटा एप्स डाउनलोड गर्नुस् । घरमा माइक्रो कन्ट्रोलरसँग आवश्यक स्वीचलाई कनेक्ट गर्नुस् । त्यस कन्ट्रोलरसँग इन्टरनेट भने जोडिएको हुनु पर्छ । त्यसपछि मोबाइलमा भएको एप्सबाट गरिएको अर्डर अनुसार कन्ट्रोलरले सबै डिभाइसमा बिजुली अन/अफ गरिदिन्छ । 'घरबाहिरै रहेर घरमा भएका सबै विद्युतीय सामग्री मोबाइलबाटै नियन्त्रण गर्ने गरी प्रविधि विकास गरेका हौं,' खड्काले भने, 'यसलाई हरेक घरमा प्रयोगमा ल्याउँदा, समय, श्रम र खर्चको बचत हुन्छ ।' स्मार्ट फोन नहुनेले कम्प्युटरबाटै घरका इलेक्ट्रोनिक्स नियन्त्रण गर्न सकिने गरी उनीहरूले वेव पेजको डिजाइनसमेत गरेका छन् ।

पुल्चोक इन्जिनियरिङ कलेजका इलेक्टि्रकल, कम्प्युटर र इलेक्ट्रोनिक्स डिपार्टमेन्टमा अध्ययनरत विद्यार्थीले हरेक बर्ष आयोजना गर्ने प्रविधि मेला (लोकस) मा ती दुईको प्रोजेक्ट अरु विद्यार्थीसँग प्रतिस्पर्धा गर्दै थियो । आयोजकले यस बर्षको मेलाको थिम दिएका थिए 'घरघरमा प्रविधि ।'

थिम अनुसार आफ्नो इन्नोभेसन पस्किएका थिए काठमाडौं इन्जिनियरिङ कलेजका अभिषेक महर्जन, विजयकुमार थिङ, प्रदीप महर्जन, शतीष बज्राचार्य र राहुल बज्राचार्यको समूहले पनि । उनीहरूको प्रोजेक्ट होम अटोमेसनले इन्टरनेटमार्फत मोबाइल/कम्प्युटरबाट घरमा रहेका विद्युतीय सामग्री चलाउने सुविधा दिन्छ नै । यस अतिरिक्त घरको सुरक्षामा समेत सघाउँछ ।

'हामीले मोबाइलबाटै घरको ढोका खोल्ने प्रविधि विकास गरेका छौं,' थिङले भने, 'आफू  घरबाहिर बस्दा कोही घरमा आए उसको भिडियो खिचेर घरधनीलाई पठाउने व्यवस्थासमेत यसमा छ ।' सिंहदरबारलगायत ठूलो कम्पाउन्ड भएका भवनमा अध्यारो भएपछि आफैं विजुली बल्ने र उज्यालो भएपछि अटोमेटिक अफ हुने प्रविधि उनीहरूले विकास गरेका छन् । घरमा आरजिवि लाईट जडान गरेर घन्टै पिच्छे त्यसको कलर चेन्ज गर्ने व्यवस्था मिलाउन सकिने अर्का प्रोजेक्ट डेभलपर अभिषेकले बताए ।

पुल्चोक इन्जिनियरिङकै प्रबल लिगल, रुपेश प्रजापति, प्रदीप बज्राचार्य र प्रसुन श्रेष्ठले डेभलप गरेको होम अटोमेसन सिस्टममा मोबाइल वा कम्प्युटरमा रहेको वेव ब्राउजरबाटै घरायसी सामग्री नियन्त्रण गर्न सकिन्छ । त्यसका लागि इन्टरनेट र उनीहरूले विकास गरेको इथरनेट बेस होम अटोमेसन सिस्टम आवश्यक पर्छ । 'यस सिस्टममा इन्टरनेट ब्राउजर चलाउन सकिने जुनसुकै डिभाइसबाट घरायसी इलेक्टोनिक्स कन्ट्रोल गर्न सकिन्छ,' लिगलले भने । त्यही कलेजकै अविसा थापा मगर भने आवाजबाटै इलेक्टि्रोनिक्स डिभाइस कन्ट्रोल गर्न सकिने प्रोजेक्ट देखाउँदै थिइन । उनले हेडफोनमा भएको माइकबाट कुन बत्ति अन/अप गर्ने अर्डर गर्थिन, त्यसैअनुसार बत्ति निभ्ने/बल्ने गथ्र्यो । 'हाम्रो प्रोजेक्टले हिँडडुल गर्न नसक्ने अपाङ्ग, बुढाबुढीलाई विद्युतीय सामग्री कन्ट्रोल गर्न सघाउँछ,' उनले भनिन् । मगरले अनुप शाक्यसग मिलेर यस्तो प्रविधि विकास गरेकी हुन् ।

यी भए घरलाई स्मार्ट बनाउने इनोभेटिभ प्रविधि । यस्ता ३५ वटा प्रोजेक्ट मेलामा राखिएको मिडिया कोअर्डिनेटर गिरिश पाण्डेले जानकारी दिए । मेलामा त्यसबाहेक अरु २५ वटा फरक खालका प्रोजेक्ट थिए । पुल्चोक क्याम्पसकै रुची श्रेष्ठ, सतेन्द्र शाक्य, श्रेया बैद्य र सुभ्रतराम जोशीले डेभलप गरेको स्मार्ट सिकर मोवाइल एप्सले आफ्नो लेकेसन ट्रयाक गर्दै त्यहाँ रहेका बेला आवश्यक सामग्री नोट गरेर राख्न सकिने, आफ्ना साथीहरूको लोकेसन ट्राक गर्ने सुविधा दिन्छ । सोही कलेजकै संदीप उपाध्याय, राजन गौतम र जगदीश गौतमको स्मार्ट नोटवुकले पढ्ने विद्यार्थीदेखि लेखकसम्मलाई कहिल्यै कपी कलम प्रयोग गर्नै नपर्ने गरी ल्यापटप, डेस्कटप, ट्याब्लेटलाई स्मार्ट नोटबुकमा परिवर्तन गरिदिन्छ ।

आफूले पढ्दा हासिल गरेको ज्ञानलाई ब्यवहारमा उतारेर देखाउन पुल्चोक क्याम्पसका इलेक्ट्रोनिक्स, इलेक्ट्रीकल र कम्प्युटरका विद्यार्थीले हरेक बर्ष यस्तै मेला गर्दै आएका छन् । 'अव घरलाई स्मार्ट बनाउनु पर्छ भनेर यस बर्ष मेलाको थिम स्मार्ट होम राखिएको हो,' आयोजक कमिटीको मिडिया कोअर्डिनेटर पाण्डेले भने, 'प्रतिस्पर्धामा निकै उत्कृष्ट प्रोजेक्ट आए ।'  लगानीकर्ता आए नेपालमा विकास भएका प्रोजेक्टलाई व्यवसायीक उत्पादन गरेर हरेक घरलाई स्मार्ट बनाउन सकिने उनको अपेक्षा छ ।
source :-http://www.ekantipur.com/np/2071/3/14/full-story/391542.html