डिभी परेर पनि सयौं नेपालीको अमेरिका जाने ढोका बन्द



जुलाई महिनाको भिसा बुलेटिनमा अमेरिकी सरकारले  ९ हजार ५ सयसम्म केसनम्बर हुने नेपाली डिभी लोटरी विजेताहरु मात्र अमेरिका आउन पाउने भन्दै अगस्त महिनाका लागि भिसा नम्बर तोकिदियो । त्यतीबेला धेरै डिभी विजेता नेपालीहरुले अगस्त महिनाको भिसा बुलेटिनमा अमेरिकी सरकारले सेप्टेम्बरका लागि भिसा नम्बर जारी गर्दा ९ हजार ५ सय भन्दा माथि केस नम्बर हुनेहरुलाई पनि भिसा नम्बर उपलब्ध गराउने आशा गरेका थिए ।

अमेरिकाले सेप्टेम्बरका लागि पनि ९ हजार ५ सय भन्दा माथि केस नम्बर हुने डिभी लोटरी विजेता नेपालीहरुका लागि भिसा उपलब्ध नहुने भन्दै भिसा बुलेटिन जारी गरेपछि ९ हजार ५ सय भन्दा माथि डिभी लोटरीको केस नम्बर हुने डिभी विजेता नेपालीहरुको अमेरिका आउने ढोका पूर्ण रुपमा बन्द भएको छ । अब उनीहरुको डिभीमार्फत अमेरिका आउने आशा पूर्णरुपमा मृत भएको छ ।

९ हजार ५ सय भन्दा माथि केस नम्बर हुने डिभी लोटरी विजेताहरु ६ सयको हाराहारीमा रहेका छन् । तर एउटा देशबाट ७ प्रतिशत अर्थात् ३५ सयको हाराहारीमामात्र डिभी लोटरी विजेताहरु अमेरिका आउन पाउने भएकाले गतवर्ष डिभी लोटरी पार्न सफल ६ हजार ८२ जनामध्ये कम्तीमा २५ सय नेपालीहरु अमेरिका आउन भने नपाउने निश्चित छ । गत मे महिनामा सन् २०१५ को डिभी लोटरी पार्न सफल ४ हजार ९ सय ९१ नेपालीहरु मध्ये पनि कम्तीमा १४ सय नेपालीहरु अमेरिका आउन नपाउने निश्चित छ ।
चालु आर्थिक वर्षका लागि ६ हजार ८२ जना नेपालीहरुलाई अमेरिकाको डिभी लोटरी परेको थियो । डिभी लोटरीको परिणाम आउँदा नै थाहा थियो, डिभी लोटरी परेका सबैजना अमेरिका आउन पाउनेछैनन् । किनभने अमेरिकाले डिभी लोटरीबाट एक देशबाट हरेकवर्ष ३५ सयको हाराहारीमा मात्र विजेताहरुलाई भिसा दिने गरेको छ । किनभने डिभी लोटरीको नियममा नै अमेरिकाले कुल संख्या झण्डै ५० हजारको ७ प्रतिशतको हाराहारीमा मात्र एउटा देशका लागि डाइभर्सिटी भिसा नम्बर दिने स्पष्ट पारेको छ ।

जस अनुसार अहिलेसम्म कुनै पनि देशले ३५ सयदेखि ३८ भन्दामाथि डाइभर्सिटी भिसा पाएको रेकर्ड छैन । त्यसैले नेपालले पनि ३५ सयको हाराहारीमा भन्दा बढी संख्यामा डाइभर्सिटी भिसा नपाउने निश्चित थियो । जस अनुशार कम्तीमा २५ सय नेपालीहरु अमेरिका आउन नपाउने निश्चित थियो । तर पनि नेपालीहरुले अमेरिका आउन पाउने आशाको त्यान्द्रो भने छाडेका थिएनन् ।
     
यसैबीचमा गत महिना जुलाई महिनाको भिसा बुलेटिन जारी गर्दै अमेरिकाले ९ हजार ५ सय भन्दा माथि केस नम्बर हुने डिभी लोटरी नेपाली विजेताहरुले अमेरिकाको भिसा नपाउने स्पष्ट पारिदियो । अगस्त महिनाको लागि भिसा नम्बर जारी गर्दै अमेरिकाले डिभी लोटरी विजेता नेपालीहरुमाथि सिमाबन्दी तोकिदिएपनि  ९ हजार ५ सय भन्दा माथि केस नम्बर हुने झण्डै ६ सय डिभी लोटरी नेपाली विजेताहरुले झिनो आशा भने मरेको थिएन ।

किनभने अगस्त महिनामा जारी हुने भिसा बुलेटिनमा सेप्टेम्बर महिनाको लागि ९ हजार ५ सय भन्दा माथि केस नम्बर हुनेका लागि पनि अमेरिकाले भिसा नम्बर उपलब्ध गराइदिने झिनो आशा बाँकी थियो । तर अमेरिकाले मंगलबार भिसा बुलेटिन जारी गर्दै सेप्टेम्बर महिनाको लागि पनि ९ हजार ५ सय भन्दा माथि केस नम्बर हुने डिभी लोटरी नेपाली विजेताहरुलाई अमेरिकाको भिसा नदिने स्पष्ट पारेपछि अमेरिका आउने आशा गरेर बसेका ९ हजार ५ सय भन्दा माथि केस नम्बर हुने डिभी लोटरी नेपाली विजेताहरुको अन्तिम आशा पनि मरेको छ ।
डाइभर्सिटी भिसामार्फत अमेरिका आउन पाउने उनीहरुको ढोका मंगलबारदेखि पूर्णरुपमा बन्द भएको छ । अमेरिकाले भिसा बुलेटिनमार्फत ९ हजार ५ सयभन्दा माथि केस नम्बर हुने डिभी लोटरी नेपाली विजेताहरुलाई डाइभर्सिटी भिसा नदिने घोषणा गरेपछि पढाई छोडेर, जागिर छोडेर र सम्पत्ति बेचेर अमेरिका आउने आशामा बसेका सयौं नेपालीको विचल्ली भएको छ ।
         
धेरै नेपालीहरु अमेरिका आइसकेको भन्दै अमेरिकी सरकारले पहिलोपल्ट नेपालका लागि छुट्टै नम्बरमा डाइभर्सिटी भिसा सिमित गरेकाले एसियाका अन्य देशका १३ हजार ३ सय ५० सम्म केस नम्बर भएकाहरुले भिसा पाउने भएपनि ९ हजार ५ सय भन्दा माथि केस नम्बर भएका नेपालीहरुले भने भिसा नपाउने भएका हुन् । अमेरिकाको विदेश मन्त्रालय अन्तरगतको ब्युरो अफ कन्सुलर अफेयर्सले मंगलबार जारी गरेको भिसा बुलेटिन नै सन् २०१४ को डिभी लोटरीका लागि अन्तिम भिसा बुलेटिन हो । 

डिभी लोटरी २०१४ का विजेताहरु भनेका सन् २०१२ मा डिभी चिठ्ठा भरेर सन् २०१३ मा परिणाम प्राप्त गर्नेहरु हुन् । डिभी लोटरी २०१४ का लागि छनौट भएका व्यक्तिका लागि अमेरिकाले अक्टोबर १ २०१३ देखि सन् २०१४ को सेप्टेम्बर ३० सम्म भिसा उपलब्ध गराउनेछ । यो अवधिमा भिसा नपाएकाहरु डिभी लोटरी परेपनि स्वत अयोग्य हुनेछन् । गत वर्ष डिभी लोटरी भरेर यो वर्ष परिणाम प्राप्त गर्नेहरु सन् डिभी लोटरी २०१५ का विजेताहरु हुन् । उनीहरुका लागि भने अक्टोबरबाट  मात्रै अमेरिकी सरकारले भिसा उपलब्ध गराउनेछ । डिभी लोटरी २०१५ को पहिलो परिणाम अनुशार ४ हजार ९ सय ९१ जना नेपालीहरु छनौट भएका थिए । 

गतवर्ष डिभी भरेर यो वर्ष परिणाम हात पारेकाहरुले भने सन् २०१४ को अक्टोबर १ बाट भिसा पाउन थाल्नेछन् । तर उनीहरुमध्ये पनि ३५ सयको हाराहारीमा मात्र डाइभर्सिटी भिसा पाउने भएकाले कम्तीमा १४ सय विजेताहरु अमेरिका आउन नपाउने निश्चित छ ।  डिभी लोटरी परेको भन्दै कैयन नेपालीहरु अमेरिका आउनका लागि तयार भएका बसेका थिए ।  कैयनले आफ्नो पढाई छाडेर बसेका थिए भने  कैयनले घरबार बेचेर बसेका थिए । कैयनले त छँदाखाँदाको जागिर छाडेर बसेका थिए ।  

तर ९ हजार ५ सय भन्दा माथि केस नम्बर हुने नेपाली डिभी विजेताहरुले भिसा नपाउने अमेरिकाको अन्तिम घोषणापछि उनीहरुले अब आफ्नो बिचल्ली हुने बताएका छन् । डिभी परेर पनि अमेरिका आउन नपाएका अमर जोशी भन्छन् –“अन्तिममा डिभी पीडित भइयो । मेरो जिन्दगी नै डामाडोल भयो । १४ महिनासम्म कुरेर अन्तिममा अमेरिका जान नपाउँदा निकै पीडा महसुस भएको छ । म अत्यन्तै नर्भस भएको छु । ”
         
डिभी परेर अमेरिका आउन नपाएपनि उनले दुखेसोसँगै भविश्यप्रतिको आशा भने मारेका छैनन् । उनी भन्छन् –“ अब मज्जाले पढ्छु । कुनै टेन्सन भएन । तर छोरो अमेरिका जाँदैछ भनेर सोंच्नुभएका बुबाआमाले के सोंच्नुहोला भन्ने चिन्ताले पिरोलेको छ । ” त्यस्तै डिभी परेर पनि अमेरिका आउन नपाएका डायमण्ड शर्मा भन्छन् –“हाम्रो लागि अमेरिका सपना हुने भयो । अमेरिकाले डिभी परेकालाई पनि अमेरिका जान नदिएर गल्ती गरेको छ । तर अमेरिकामात्र सबैथोक होइन । यति लामो समय कुरेर अमेरिकाले भिसा नदिदा आशाको पीडादायी अन्त्य भएको छ । मलाई त विश्वास नै गर्न मुस्किल परिरहेको छ । ”

डिभी लोटरीबारे महत्वपूर्ण जानकारीहरु
यदि तपाई डिभी लोटरीमा सहभागी हुन योग्य नरहेको देशमा जन्मनुभएको भएपनि केही परिस्थीतिका कारण डिभी लोटरीका लागि आवेदन दिन योग्य हुन सक्नुहुन्छ । यदि तपाईको दम्पत्ति डिभी लोटरीमा सहभागी हुन योग्य देशमा जन्मनुभएको छ भने तपाईले आफूलाई त्यो देशको तर्फबाट डिभी लोटरीमा सहभागी गराउनसक्नु हुनेछ । तर तपाईको योग्यता तपाईको दम्पत्तिमा आधारित हुनेछ । यदि तपाईको दम्पत्ति डिभी २ भिसाका लागि योग्य भएमा मात्र तपाईले डिभी १ भिसा पाउनुहुनेछ । अनि तपाईहरु दुबैजना एकैपटक अमेरिका प्रवेश गर्नुपर्नेछ । त्यसैगरी तपाईका २१ वर्ष मुनीका छोराछोरीहरु पनि अमेरिका आउन पाउनेछन् ।    
       
अमेरिकामा धेरै व्यक्ति नआएका देशहरुबाट त्यो देशका व्यक्तिलाई अमेरिका आउने अवशर प्रदान गर्नका लागि डिभी लक्ष्यित रहेको हुन्छ । त्यसैले विगतका ५ वर्षमा परिवारको स्पोन्सर र रोजगारका आधारमा कुनै पनि देशबाट ५० हजार भन्दा बढी व्यक्ति अमेरिकामा आएका छन् भने त्यो देशका व्यक्ति डिभी लोटरीका लागि अयोग्य हुन्छन् । हरेक वर्ष अमेरिकाले ५ वर्षमा कुन देशबाट कति व्यक्ति अमेरिकामा आए भन्ने कुराको रुजु गर्छ । त्यसैले यो वर्ष डिभी लोटरीका लागि योग्य देश अर्को वर्ष अयोग्य हुनसक्छ ।

युएससीआईएसले हरेकवर्ष डिभीबाट कति व्यक्ति अमेरिका आउन पाउने भन्ने कुराको निर्धारण गर्छ । गणना पूर्ण भइसकेपछि युएससीआईएसले त्यस्तो नम्बरको घोषणा गर्छ । तर कुनै पनि देशबाट कुल संख्याको ७ प्रतिशतभन्दा बढी व्यक्ति डाइभर्सिटी भिसामा अमेरिका आउन नपाउने नियम रहेको छ । डिभी लोटरीमा सहभागी हुनका लागि हाइस्कुल वा सो सरहको शैक्षिक योग्यता हुन आवश्यक छ । १२ वर्षसम्मको कोर्श पुरा गरेकोलाई त्यो शैक्षिक मान्यता प्रदान गरिदै आएको छ । तर अमेरिकी सरकारको श्रम विभागले तोकेका पेशामा आवद्ध रहेर ५ वर्षको अनुभव बटुलेका व्यक्ति भने शैक्षिक योग्यता नभएपनि डिभी लोटरीमा सहभागी हुन पाउँछन् ।
- खसोखास साप्ताहिक