जागिरले मलाई खोज्यो
बाल कल्याण मावि लिबाङमा अध्यापन
गर्दा २१/२२ वर्षको थिएँ । जब ०३६ सालमा महेन्द्र बहुमुखी क्याम्पस
नेपालगन्जबाट आइएस्सी उत्तीर्ण गरेँ, रोल्पाका प्रमुख जिल्ला अधिकारी र
जिल्ला शिक्षा अधिकारीले ‘तपाईं लिबाङ आएर पढाइदिनुपर्यो’ भनेर मलाई आग्रह
गरे । मैले जागिर खोजेको थिइनँ । तर, जागिरले मलाई खोज्यो । र, म आग्रहलाई
स्विकारेर लिबाङमा विज्ञान शिक्षक नियुक्ति भएँ । ०३६ सालदेखि मेरो
शिक्षणयात्रा सुरु भयो ।
मेरो तह निमाविको थियो । पढाउनचाहिँ माविमा पढाउँथेँ । त्यस वेला
बिएस्सी पास गरेका मान्छे रोल्पामा पाउन असम्भवप्राय: थियो । आइएस्सी गरेका
पनि निकै कम थिए । त्यस वेला १० कक्षामा पढ्ने विद्यार्थी र म उस्तै–उस्तै
उमेरका थियौँ । साथीजस्तो सम्बन्ध हुन्थ्यो ।
शिक्षण पेसा र राजनीति मेरो सँगसँगै सुरु भएका हुन् । सुरुको दुई/तीन
वर्ष त शिक्षणभन्दा राजनीति बढीजस्तो भयो । विद्यार्थीलाई मैले यो संगठनमा
लाग भनेर सिकाउँथेँ पनि । अनेरास्ववियुको सदस्यता आफँै काटेर हिँड्थेँ ।
विज्ञानकोठा अलग्गै थियो । म त्यहाँ बस्थेँ । कतिपय विद्यार्थीलाई त्यहीँ
बोलाएर अनेरास्ववियु र नेविसंघबारे सिकाउँथेँ । अन्य शिक्षकले ‘तपाईंले अलि
बढी गर्नुभयो । ४ बजेपछि वा १० बजेअगाडि गरे हुन्छ । त्यसबीचमा
नगरेहुन्थ्यो’ भन्थे । हुन त विद्यार्थी कालदेखि नै राजनीतिमा आकर्षित थिएँ
। ०३४/३५ सालमा नेपालगन्जमा आइएस्सी पढ्दै गर्दा राजनीतिमा आकर्षित भएको
हुँ ।
मैले पढाउँदा अहिलेको हाम्रो पार्टीका युवा नेता वर्षमान पुन, नन्दकिशोर
पुन, नेकपा–माओवादीका नेता नेत्रविक्रम चन्द, कुलप्रसाद केसी, जयपुरी
घर्ती मेरा विद्यार्थी हुनुहुन्थ्यो । जोखबहादुर महरा, सन्तोष बुढा, सहिद
किमबहादुर थापा अरू स्कुलमा पढ्नुहुन्थ्यो । कांग्रेसका रोल्पा जिल्ला
सभापति कृष्णबहादर घर्ती, जिल्ला पूर्वसभापति माधव आचार्य, एमालेका अघिल्लो
नेतृत्व हरि बस्नेत, राप्रपा नेपालका दलवीर पुनलाई मैले पढाएको हो । अरू
थुप्रै पार्टीमा छन्, कोही व्यवसायमा छन् । पञ्चायतविरोधी आन्दोलन थियो । म
पनि पञ्चायतविरोधी भएकाले विरोधीको बढी माया लाग्थ्यो । उनीहरूप्रति मेरो
सहानुभूति थियो । उनीहरू जुनसुकै पार्टीका समर्थक होऊन् । हाम्रो
पार्टीकालाई त राजनीति पनि सिकाएँ ।
शिक्षकबाट संसद्शिक्षक संगठन पनि त्यही वेला सुरु
भयो । मैले बाह्य रूपमा शिक्षक संगठनको काम गर्न थालेँ । ०३६ सालदेखि नै
आन्तरिक रूपमा कम्युनिस्ट पार्टीमा पनि जोडिएँ । पार्टीको नाम त्यो वेला
नेकपामात्रै थियो । १२ वर्षजति त्यहाँ पढाएँ । त्यो बीचमा ०३८ मा
जनमतसंग्रह भयो । ०३९ सालमा बिएस्सी पढ्ने मौका पाएँ, महिनामा तीन सय पाउने
गरी सरकारी कोटामा । पोखरा पढ्न गएँ । त्यहाँ विद्यार्थी संगठनमा निकै
सक्रिय भएँ । बिएस्सी सकाएर फेरि शिक्षक भएँ । त्यस वेला राजनीतिमा उभार कम
भएको थियो । त्यसबीचमा पार्टीमा विभाजन पनि आयो । ०३८ सालमा एउटा विभाजन
देखियो । एउटा नेकपा चौथो महाधिवेशन र अर्को मशाल भयो । ०४१/४२ तिर मशाल
पनि मशाल र मसाल भन्ने भयो । ०४६/४७ को आन्दोलनमा निकै सक्रिय भइयो । मैले
११ वर्ष केही महिना स्थायी शिक्षण गरेँ । ०४८ सालमा संसद्मा उठ्ने भएपछि
शिक्षण पेसा छोडेँ ।
०४८ सालको निर्वाचनमा म रोल्पा क्षेत्र–२ बाट निर्वाचित भएँ । निर्वाचन
जित्दा ३२ वर्षको थिएँ । जिविस पूर्वसभापति भइसकेका नेपाली कांग्रेसका
अमृतबहादुर घर्तीलाई पराजित गरेको थिएँ । क्षेत्र–१ मा हाम्रै पार्टीका
बर्मान बुढाले बालाराम घर्तीलाई पराजित गर्नुभयो । पार्टीले नौ सिट जित्यो ।
हाम्रो पार्टीबाट संसद्मा म सबभन्दा कान्छो थिएँ ।
संसद् भवनमा छिर्दा यो ठूलो ठाउँ हो भन्ने लाग्थ्यो । सैद्धान्तिक रूपमा
संसद् भनेको ‘खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने थलो हो’ भन्ने
लेनिनको भनाइलाई स्पष्टसँग बुझेका थियौँ । संसद्बाट केही हुँदैन भन्ने थाहा
थियो । भण्डाफोर गर्न संसद्मा जाने नीति थियो । त्यहाँभित्र हुने निर्णय
हामीले हेर्यौँ । हाम्रो सिद्धान्त जे थियो, त्यहाँ हुने क्रियाकलापले
त्यो पुष्टि हुँदै गयो । कांग्रेसको बहुमतको सरकार हुँदाहुँदै अन्तरकलह
भएपछि तीन वर्षमा मध्यावधि निर्वाचन भयो ।
अनि भूमिगत भएँपार्टीले जनयुद्ध गर्ने निर्णय
गर्यो । खुला वा भूमिगत काम गर्ने भन्ने निर्णय गर्नुपर्ने भएपछि मैले
भूमिगत हुने निर्णय गरेँ । १ फागुन ०५२ देखि जनयुद्ध सुरु हुने निश्चित भयो
। म माघमा भूमिगत भएँ । लिबाङबाट माडिचौर हुँदै जंकोट गएँ । पहिलो मेरो
आश्रय स्थल जंकोट बन्यो । मैले घरमा पनि आउँदिनँ भनेँ । त्यस वेला हाम्रो
युवाशक्ति असाध्यै क्रान्तिकारी र ऊर्जाशील थियो । विद्रोहको झन्डा बोक्न
तयार थियो । निर्णयपछि जनयुद्धको घोषणा गर्न आक्रमणका लागि होलेरी छान्यौँ ।
त्यो वेला रुकुम र रोल्पाको विशेष क्षेत्र बनाइएको थियो । म इन्चार्ज थिएँ
। रुकुममा हेमन्तप्रकाश वली र रोल्पा तेजमान घर्ती हुनुहुन्थ्यो । हामी
तीनजनालाई पहिलो पुस्ता भने पनि हुन्छ । रोल्पाको डिसिएस प्रतापजी
हुनुहुन्थ्यो । होलेरी आक्रमण गर्दा वर्षमान पुन ‘अनन्त’को नेतृत्वमा ३५
जना टिम बनायौँ । ओनसरी र तारा घर्ती दुईजना महिला हुुनुहुन्थ्यो । पासाङ
सहायक कमान्डर हुनुहुन्थ्यो । हतियारको बन्दोबस्तसहित टोली गयो । म
दार्बोटमा बसेँ । उहाँहरू आक्रमण गरेर आउनुभयो । जिल्लाभर मशाल जुलुस,
फायरिङ गरेर भव्य रूपमा जनयुद्धको सुरुवात गर्यौँ ।
मेरो घर सदरमुकाममै छ । भूमिगत भएर हिँड्ने वेला मेरी ठूली छोरी १५/१६
की थिई । सानो छोरा सात वर्षको थियो । ठूला छोरा र छोरी आठ कक्षामा पढ्थे ।
सानाले दुई/तीनमा पढ्थे । उनीहरूलाई ‘चम्किलो रातो तारा’ भन्ने किताब
पढाउँथेँ । चीनमा जनवादी क्रान्तिको वेला बालबालिकाले दु:ख पाएका, बाबुआमा
बाँडिएका कुरा सुनाउँथेँ । प्रगतिशील गीतहरू सुन्थ्यौँ । उनीहरूलाई मैले
सबै कुरा भनेको थिएँ । म चम्किलो रातो ताराको एउटा योद्धा हिँडेको जस्तैगरी
जान्छु । प्रहरी आउन सक्छ, दमन गर्न सक्छ । उनीहरू सुन्थे । कतिखेर
डराएजस्तो गर्थे । कतिखेर ‘ठीक छ तपाईं जानुस् हामी जसरी पनि बस्छौँ’ भनेर
ढाडस दिन्थे । म हिँडिसकेपछि प्रहरीले दु:ख दिन थाल्यो । त्यसपछि कोही पनि
परिवार घरमा बस्न सकेनन् ।
अर्को साउनमा मेरो पूरै परिवार घरबाट निस्कियो । ठूलो छोरा र छोरी
प्रत्यक्ष रूपमा जनयुद्धमा होमिए । अर्को कुनै विकल्प थिएन । साना छोराछोरी
लाग्न सक्ने अवस्थाका थिएनन् । उनीहरूलाई दाङमा केही शिक्षक साथीहरूलाई
पाल्ने र पढाइदिनुपर्यो भनेर अनुरोध गरेँ । मान्नु भयो । मेरी पत्नी पनि
त्यतै केटाकेटी हुर्काएर बसिन् । ६/७ कक्षा पढ्ने र १४/१५ वर्ष भएपछि
उनीहरू हामी पनि हिँड्छौँ भनेर प्रत्यक्ष युद्धमा हिँडे । त्यसपछि चार
छोराछोरी र हामी दुई गरी ६ जना नै प्रत्यक्ष युद्धमा होमियौँ । औपचारिक
रूपमा मेरा छोराछोरी आठ कक्षाभन्दा बढी पढेनन् । अहिले आफ्नै मिहिनेतले
पढेका छन् ।
रोल्पाको कोर्चाबाङमा पार्टीले घरेलु उद्योग खोलेको थियो । मेरी पत्नी
त्यो उद्योगमा काम गर्थिन् । वेला–वेला हाम्रो परिवारको भेट हुन्थ्यो ।
छोराछोरीको आफ्नै ढंगले बिहे पनि भयो । छोराहरू जनसेनामा थिए । जेठी छोरी
जिल्लामै काम गर्थिन् । कान्छी छोरी सांस्कृतिक फाँटमा थिइन् । भेट्दा
राजनीतिक कता गइरहेको छ, युद्ध कसले जित्छ, कसरी जितिन्छ आदि विषयमा कुरा
हुन्थ्यो । मैले उत्साहित पार्ने गरी कुरा गर्थें । उनीहरू सबै युद्धमा
रमाएका थिए । मेरो परिवार कोही पनि युद्धभन्दा बाहिर थिएन । परिवार युद्धमा
खुसी थियो । पारिवारिक कुरा पनि गथ्र्याैं । मेरा दुई छोरी र एक छोराको
बिहे युद्धमै भयो । म दुवै छोरी र एक छोराको बिहेमा उपस्थित हुन पाइनँ ।
मेरी पत्नीचाहिँ भइन् । उनीहरूको बिहेको खबर थाहा थियो । मेरो अनुमति थियो ।
आफ्नै मृत्युको समाचार०५४ सालमा एउटा ठूलो घटना
घट्यो । म बालबाल बचेँ । सल्यानको कागपानीमा भएको घटना हो । त्यहाँ मेरो
अंगरक्षक कमरेडलाई गुमाएँ । उहाँसहित अन्य दुई सहयोगी पनि सहिद हुनुभयो ।
हामी बिहान नित्यकर्मका लागि निस्किएका थियौँ । त्यही वेला प्रहरीले घर
घेरा हाल्यो । म केही साथीसहित बाहिरबाट भाग्न सफल भएँ । प्रहरीले लखेट्यो ।
म धेरै दौड्न सक्दिन थिएँ । खोल्सीमा लुकेर बाँचे । साथीहरूलाई अलि परसम्म
लखेट्यो प्रहरीले । त्यतिखेर मसँग भएको एउटा राइफल, बन्दुक गुम्यो ।
सल्यानको अर्को घटना पनि भयो । बैठक बसेको ठाउँमै प्रहरीले घेरा हाल्दै छ
भन्ने खबर पाएर बच्यौँ ।
जनयुद्धमा मेरोबारेमा विभिन्न प्रचार भए । गाउँ–घरको हल्ला त सामान्य नै
हुन्थ्यो । ०५८ सालपछि मलाई थुप्रै ठाउँमा मारिएको हल्ला फिँजियो ।
दुश्मनले मलाई तीनपटकसम्म मारेको हल्ला फैलाए । अर्घाखाँचीको बाटोमा महराको
लास भेटियो पनि भने । भालुबाङको जंगलमा पनि मारियो भने । मैले म मरेको छैन
भनेर आफैँ वक्तव्य दिएर खण्डन गरेँ । दुश्मनले हाम्रा र मेरोविरुद्ध
अनर्गल प्रचार गर्थे । टाउकोको मूल्य तोकिएको थियो ।
पहिलोचोटि सार्वजनिक०५८ साल भदौमा युद्धविराम गरेर
हामी वार्ताका लागि तयार भयौँ । हाम्रो एजेन्डा र देशको शक्ति सन्तुलन अलि
फरक ठाउँमा गयो । हामीले सुरु गरेको जनयुद्ध निकै छोटो समयमा सफलतातिर
अगाडि बढिरहेको थियो । प्रतिक्रियावादीमाथि निकै ठूलो धावा बोलिरहेका थिए ।
जनतामा देशभर आक्रर्षण बढिरहेको थियो । मध्यम वर्गीय तप्का पनि आकर्षित
भइरहेको थियो । अर्कोतर्फ प्रतिक्रियावादी सत्ताभित्र आतंक फैलिरहेको थियो ।
यो स्थितिमा संविधानसभाको मूल नारा लिएर अनि अन्तरिम सरकार र गोलमेच
सम्मेलनको एजेन्डा लिएर हामी वार्ताका लागि तयार भयौँ । ती एजेन्डा
लोकप्रिय पनि थिए ।
म ०४८ सालमा संसद् भइसकेको थिएँ । अरू पार्टीका धेरै नेता पनि मैले
चिन्थेँ । त्यतिखेर कांग्रेसको सरकार थियो । एकपटक संसद्मा गइसकेको मान्छे
भइसकेकाले मलाई अनुकूल हुनसक्थ्यो । अरू पार्टीका नेतासँग चिनजान पनि थियो ।
त्यही भएर पार्टीले विश्वास गरेर मलाई वार्ता टोली संयोजक बनाएर पठाएको
हुन सक्छ । ०५२ देखि ०५८ सम्म भने अन्य पार्टीका नेतासँग कुनै सम्पर्क भएको
थिएन ।
वार्ताका लागि पहिलोपटक काठमाडौं आउँदा म भैरहवाबाट भित्र पसेँ ।
वार्तामा आउने भएपछि युद्धविराम भइसकेको थियो । काठमाडौंसम्म हामी कुनै
जानकारी नदिएरै आयौँ । अग्नि सापकोटा र टोपबहादुर रायमाझी वार्ता टोली
सदस्य हुनुहुन्थ्यो । अग्निजी उपत्यकावरिपरि काम गर्नुहुन्थ्यो,
टोपबहादुरजी बुटवलआसपास हुनुहुन्थ्यो । म दाङबाट आएको थिएँ । हामी भूमिगत
भए पनि मोटरबाटै आएका थियौँ । हाम्रो भेट यहीँ भयो । कीर्तिपुरको पाँगामा
सभा गर्यौँ । माओवादीको वार्ताटोली सार्वजनिक हुने रे भन्ने प्रचार भयो ।
सभाबाट सार्वजनिक भयौँ । बसाइ पनि त्यहीँ भयो । दिलीप महर्जनको घरमा
बस्थ्यौँ ।
काठमाडौंमा म ०५१ सालसम्म थिएँ । सात वर्षपछि देखिँदा केही अनौठोजस्तो त
भयो नै । अरू मान्छेले पनि निकै ठूलो युद्ध लडेर आएको भन्थे । धादिङको
लुइटेल बुवा हुनुहुन्छ, केही समयअगाडि हामी धादिङ गएका वेला उहाँले मलाई
भन्नुभयो, ‘तैँ होस् महरा † तँलाई देख्न मन लाथ्यो ।’ ९० वर्षको बूढो
हुनुहुन्छ । उहाँले ‘यो काठमाडांै आउँदा दायाँबाट हान्छ कि, बायाँबाट हान्छ
कि, अगाडिबाट हान्छ कि, पछाडिबाट हान्छ कि भन्ने थियो । अरू त सबै वातावरण
बनाइदिएपछि आएका हुन् । सुरुमा आउने मान्छे बहादुर हुन्छ । तँ त बहादुरै
होस्’ भन्नुभो ।
हेर्नेहरूको भीडपहिलोपटक सार्वजनिक हुँदा
सामान्यतया नौलो अनुभूति हुन्थ्यो । सहरका मान्छेहरू के भन्ठान्थे भने
यिनीहरू जंगलमा बसेका हुन् । यिनले खान पनि पाएका छैनन् । रोल्पाका त हामी
गाउँघरमा नै बस्थ्यौँ । एक–दुई वर्ष हामी राति हिँड्यौँ । त्यसपछि त खुला
रूपमा जनताको बीचमै बस्यौँ । सुरुमा ओडारमा पनि सुत्यौँ । त्यो अनुभूति
यहाँका मान्छेलाई सुनाउँदा अचम्म मान्थे । भन्थे, ‘त्यस्तो पनि थियो र ?
जनताकै बीचमा हुनुहुन्थ्यो र ?’ हामी जनताकै बीचमा थियौँ भन्ने सुनाउँदा
गौरव लाग्थ्यो । कतिपयले माओवादी भन्नेबित्तिकै अर्कै मान्थे । म
ट्याक्सीमा हिँड्थेँ । मेरो दाह्री थियो । एकदिन मलाई ट्याक्सीमा देखेर
केटाकेटीदेखि बूढापाकासम्मले ऊ माओवादी–माओवादी भने । मलाई हेर्न धरै आए ।
मलाई हेर्नेहरूको भीड नै लाग्थ्यो ।
एक दिन एउटा उद्योग वाणिज्य महासंघको कार्यक्रममा मलाई अतक्र्रियामा
बोलाइयो । विनोदबहादुर श्रेष्ठ अध्यक्ष हुनुहुन्थ्यो । उहाँहरूलाई मैले
जनावरजस्तो, राक्षसजस्तो खतरनाक कुरा गर्छु होलाजस्तो लागेको रहेछ । तर,
मैले राजनीतिक विश्लेषण गरेँ । एकजना महिलाले तपाईंले यस्तो राम्रो कुरा
गर्नुहुन्छजस्तो लागेको थिएन । मेरो नातिले माओवादीलाई नछुनु होला है
भन्थ्यो । तपाईंलाई भेट्दा धेरै खुसी लाग्यो भनेर हात मिलाउनुभयो । दुई–चार
दिनपछिको अर्को भेटमा उहाँले ‘मेरो नातिले त तपाईंले माओवादीसँग हात
मिलाउनुभाछ । साबुन पानीले हात धुनुस् भनेर भन्यो’ भन्ने सुनाउनुभयो ।
सहरका मान्छेमा सायद माओवादी भनेको अर्कै प्राणी हो भन्नेजस्तो थियो ।
माओवादीबारे केही बुझेकै थिएनन् । बिस्तारै बुझ्दै गए । माओवादी भनेको
राजनीतिक शक्ति हो । माओवादी भनेको जनताको शक्ति हो भन्ने कुरा वार्ताका
बीचमा सहरका जनतालाई बुझाउन सक्यौँ ।
असफल वार्ता०५८ मा हाम्रो पहिलो वार्ता काठमाडौंको
गोदावरीमा भयो । दोस्रो वार्ता बर्दिया ठाकुरद्वारामा र तेस्रो पनि
गोदावरीमै भयो । हामीले वार्ताका लागि सहजकर्ताको भूमिका खेल्न पद्मरत्न
तुलाधर र दमननाथ ढुंगानालाई रोज्यौँ । तुलाधर पहिले पनि संसद् हुनुहुन्थ्यो
। ढुंगाना ०४८ सालमा सभामुख हुनुहुन्थ्यो । उहाँले मलाई राम्रैसँग
चिन्नुहुन्थ्यो । पहिले हामीले उहाँहरूसँग आफ्नो उद्देश्यबारे भन्थ्यौँ ।
उहाँहरूलाई साक्षी लिएर हिँड्थ्यौँ । सरकारी वार्ता टोलीका सदस्य धेरैजसो
०४८ सालका संसद् थिए । चिनेकै अनुहार थिए ।
त्यस वेला हामी एकआपसमा
युद्ध लडेर आएका थियौँ । हामीले वार्तामा भेट्दा त्यस वेलाको नेपालको
राजनीतिक व्यवस्थाको विरोध गर्यौँ । ‘तपाईंहरूको सिस्टम ठीक छैन । हामी
त्यसको भण्डाफोर गर्न आएको, सरकार परिवर्तनको जिम्मा जनतालाई दिऔँ । सिस्टम
फेरिदिउँ’ भन्यौँ । तपाईंहरू संविधानसभाका लागि तयार हुनुहोस् भन्थ्यौँ ।
उहाँहरू राज्य व्यवस्था परिवर्तन, राजतन्त्र फाल्ने कुरा गर्दा
हच्किनुहुन्थ्यो । अहिले त्यतातिर नजाऔँ, शान्तिप्रक्रियामा आउनुस्
भन्नुहुन्थ्यो । अनौपचारिक कुरा पनि हुन्थ्यो । हामीलाई जंगले भन्थे ।
जंगलमा कसरी खानुहुन्छ ? के खानुहुन्छ ? कसरी बस्नुहुन्छ ? भनेर सोध्थे ।
हामी जनताका बीचमा बसेका छौँ । जनताले जे दिन्छन् त्यही खान्छाँै भन्थ्यौँ ।
सरकारी वार्ताटोलीले संविधासभा सम्भव छैन भन्ने देखायो । मूल राजनीतिक
एजेन्डाप्रति सरकारी टोली नकारात्मक देखियो । केवल अन्तरिम सरकारको कुरा
गर्यो । सरकारी टोली राजतन्त्रको अन्त्य र संविधानसभाको निर्वाचन सोच्न
पनि सकिँदैन भनेर आयो । मलाई शेरबहादुर देउवाले भेटेरै भने, ‘यो
राजतन्त्रको अन्त्य र संविधानसभाको विषय हुँदैन । नसक्ने कुरा म कसरी सक्छु
?’ अन्तरिम सरकारमा आउनुस्, मन्त्री हुनुस् भन्थे । हामीले त्यो वेलामा
गिरिजालाई भेट्यौँ । उनलाई धेरैजसो श्रीहर्ष कोइरालाको घरमा भेट्थ्यौँ ।
माधव नेपाल, केपी वली, नारायणमान बिजुक्छे सबैलाई भेट्यौँ । र, कुरा
राख्यौँ ।
कुरा नमिल्ने थाहा थियो । तर, वार्ता हुँदैन भनेर फर्किहाल्ने कुरा भएन ।
त्यसोभन्दा यही थुनिन्छौँ भन्ने हामीलाई थाहा थियो । अन्तिम वार्तामा
पुरानै एजेन्डामा कुरा भयो । उनीहरू गम्भीर देखिएनन् । राजनीतिक एजेन्डामा
प्रवेश गर्नै चाहेनन् । हाम्रो राजनीतिक एजेन्डा मुख्य थियो । उनीहरू
‘युद्धको व्यवस्थापन गरौँ, राजनीतिक कुरा पछि गरौँला’ भन्ने उधारो कुरा
गर्थे । हामीले त्यसपछि वार्ताबाट सम्भावना देखेनौँ । ५ असोजमा काठमाडौंमा
भव्य सभा गर्ने योजना बनाएका थियौँ । काठमाडौंमा पाँच लाखको सभा हुन्छ
भन्ने भएपछि उनीहरू आतंकित भइहाले । उनीहरूले काठमाडौं कब्जा गर्न लागे
भन्ने सोचे । काठमाडौंमा नगर्नुस् भनेर अनुनयविनय गरे । सरकारले प्रतिबन्ध
नै लगायो । त्यसपछि हामीले चितवनमा गर्यौँ । चितवनमा झन्डै चार लाख मान्छे
जुटे । त्यहाँ मैले भाषण गरेँ । त्यहाँबाट आएपछि देउवालाई भेटेँ । उहाँले
‘अहो यत्ति धेरै मान्छे । चुनावमा आउनुभयो भने देशैभरि जित्नुहुन्छ’ भनेर
लोभ्याउन खोज्नुभयो । तेस्रो वार्ता गोदावरीमा सकेपछि अर्को वार्ता कहाँ र
कहिले गर्ने भन्ने पछि सल्लाह गरौँला भनेर हामी हिँड्यौँ ।
फेरि भूमिगतहाम्रो संयुक्त जनपरिषद् थियो ।
रोल्पाको थबाङमा जनमुक्ति सेनाको भेला गर्यौँ । जनसत्ताको पनि गर्यौँ ।
त्यसपछि हामी अब वार्ताबाट हुँदैन भन्ने निष्कर्षमा पुगेर अलि अगाडि बढेर
जानुपर्छ भन्ने भयो । त्यसपछि उच्चतम् तयारीसाथ घोराही ब्यारेकमाथि आक्रमण
गरियो । त्यति वेलासम्म हामी वार्ताटोलीका तीनजना भूमिगत थिएनौँ ।
आक्रमणपछि हामी पनि भूमिगत भयौँ । घोराही आक्रमण गर्दा म दाङमै थिएँ ।
त्यसपछिका दिनमा राज्यसत्ता, राजनीतिक पार्टी, अन्तर्राष्ट्रिय समुदाय,
मिडियासँग नियमित भेट भइरह्यो । दोस्रो वार्ताटोली पाँचजनाको थियो । त्यसको
वातावरण बनाउन म र दीनानाथ शर्मा झन्डै एक महिना पहिले काठमाडौं आएर धेरै
मान्छेसँग कुरा गर्यौँ । युद्धविराम भएको थियो । त्यसपछि बाबुरामजी
आउनुभयो । आइसिसी भवनमा पत्रकार सम्मेलन गरेर हामी सार्वजनिक भयौँ । हामीले
त्यसमा पाँच महिना बितायौँ । हाम्रो मूल राजनीतिक एजेन्डा संविधानसभा नै
थियो । तर, उनीहरूले मानेनन् । वार्ता टोली पनि फेरिए ।
लोकेन्द्रबहादुर चन्दको सरकारका वेला बद्रीप्रसाद मण्डल, रमेशनाथ पाण्डे
र नारायणसिंह पुनको वार्ता टोली थियो । पछि सूर्यबहादुर थापा
प्रधानमन्त्री भए । त्यसपछि प्रकाशचन्द्र लोहनी र कमल थापा वार्ताटोलीमा
थिए । उनीहरूसँग पनि कुरा भयो । त्यस वेला नेपालगन्जमा वार्ता गर्यौँ ।
त्यसपछि दाङको हापुरेमा वार्ता गर्यौँ । हापुरेमा वार्ता हुँदै गर्दा
रामेछापको डोरम्बामा हाम्रा साथीलाई सशस्त्र प्रहरीले मार्यो । त्यो
घटनापछि राज्य वार्ताप्रति सकारात्मक छैन भन्ने भयो । त्यसपछि ब्रेक गरेर
फर्कियौँ ।
तेस्रोपटकको वार्ताका वेला धेरै कुरा गरिसकेका थियौँ । अनमिनसँग,
अन्तर्राष्ट्रिय शक्तिकेन्द्रसँग पनि कुरा कुरा गरेका थियौँ । ०६० देखि ०६५
सालसम्म त मेरो काम वार्ता गर्ने नै भयो । दोस्रो वार्ता कालमा
वार्ताटोलीको प्रवक्ता भएँ, भूमिगत रूपमा पार्टीको प्रवक्ता पनि भएँ ।
प्रवक्ताकै रूपमा कुरा गर्नुपर्ने भयो । प्राय: वार्ता भइरहन्थ्यो ।
धेरैजसो मान्छेसँग वार्ता भइरहन्थ्यो । त्यसकारणले सकारात्मक वातावरण बनेको
थियो ।
गिरिजाप्रसाद कोइराला, कृष्ण सिटौलासँग भारतमा भेटेका थियौँ । एमालेका
नेतासँग पनि भेटेका थियौँ । धेरैपटक भेटघाट भयो । अनौपचारिक वातावरण बनेको
थियो । बाह्रबुँदे समझदारी पनि गोप्य रूपमै भएको थियो । त्यो समझदारीपछि
जनआन्दोनल भयो । जनआन्दोलनले एउटा रूप लियो । राजा संसद् पुनस्र्थापनातिर
गए । हामी संसद् पुनस्र्थापना हुनुपर्छ भन्नेमा थिएनौँ । पुनस्र्थापना
भएपछि हामीलाई वार्तामा बोलाइयो । हामी वार्तामा आयौँ । त्यस वेला सुरुमा म
आएको थिएँ । देव गुरुङ, दीनानाथ जी र म आएका थियौँ । हामीले एक महिना
वातावरण बनायौँ । त्यसपछि अध्यक्ष प्रचण्ड, बाबुरामजीहरू आउनुभयो र वार्ता
घनीभूत रूपले अगाडि बढ्यो । त्यसपछि अलिकति मूर्त रूप लिन थाल्यो । ०५८
सालको एजेन्डाले ०६३ मा मूर्त रूप लिन थाल्यो । संविधानसभामा जाने
एजेन्डामा सहमति जुट्यो । र, वार्ता सफल भयो । यसबीचमा हामीले गरेका
ठुल्ठूला हमलाले उनीहरूलाई पनि बाध्य बनायो । उनीहरूले जित्ने स्थिति थिएन ।
एउटा सम्झौताको बाटो खोज्नैपर्ने थियो । संविधानसभामा जाने तयार हुनु नै
वार्ताको निष्कर्ष र सफलता हो ।
प्रस्तुति : मनोज घर्तीमगर
source:http://nayapatrika.com/index.php?option=com_content&view=article&id=14103%3A2014-01-02-03-46-13&catid=39%3A2011-07-03-13-23-23&Itemid=55