मदन पुरस्कार विजेता "राजन मुकारुङ,"

एक हप्तादेखि मेरो मोबाइल बिग्रिएको थियो । छोरीको नम्बर बोकिरहेको छु । नयाँ नम्बर साथीभाइसँग नभएकाले तुरुन्तै खबर पाइनँ ।

भृकुटीमण्डपमा बसिरहेको थिएँ, जहाँ अहिले पुस्तक प्रदर्शनी भइरहेको छ । त्यहिं रहेका साथीभाइले फेसबुक, टि्वटरबाट थाहा पाउनुभएछ । त्यहिं बधाई दिनेको ओइरो लाग्यो । सुरुमा 'कन्फ्युज' पनि भएँ । पत्याउनै सकिनँ । आफैँ सोधपुछ गर्दा थाहा पाइयो, मदन पुरस्कार पाएकै रहेछु ।

मैले मदन पुरस्कार प्राप्तीलाई १५ वर्षदेखिको फरक साहित्यिक अभियानको सम्मानकोरुपमा पनि सम्झेको छु । कवि उपेन्द्र सुब्बासहित हामी सृजनशील अराजकता अभियानमा छौँ । जसको उद्देश्य सीमान्तकृत जाति र समूदायलाई केन्द्रमा राखेर लेख्नु नै हो । अभियान छाडेका छैनौँ । लेख्दै आयौँ । हाम्रो त्यसबेलादेखिको अभियान आज सार्थक भएको छ ।

मेरो जुन उपन्यास 'दमिनी भीर'ले पुरस्कार पायो, यसका पात्र यथार्थ छन् । तिनै पात्रको कथालाई मैले बुनेको छु । कथाका पात्र पनि यथार्थ छन् । कतिको नाम परिवर्तन गरिएको छ, कारण उहाँहरुको व्यक्तिगत जीवनलाई असर नपरोस् भनेर । मैले ती पात्रका अनन्त दुःखहरु देखेको छु । आज ती पात्र पनि पुरस्कृत भएका छन् । मेरो पुरस्कार तिनै पात्रलाई समर्पण गर्दछु ।

'दमिनी भीर'ले पुरस्कार पाउनु भनेको सीमान्तकृत समदायले पाउनु हो । नयाँ राष्ट्रियताको खोजी निर्माण गरेको छ, मदन पुरस्कारबाट पुरस्कृत भएपछि ।

'दमिनी भीर परम्परागत शैलीभन्दा फरक तरिकारले लेखिएको छ । उपन्यासमा एउटामात्र नायक छैन । परम्परागत उपन्यासमा जस्तो सुखबाट सुरु भएको कथा दुःखमा र दुःखबाट सुरु भएको कथा सुखमा टुंगिनेखालको कथा पनि छैन । यसमा सवै पात्र नायक छन् । उनीहरुल्े आफ्नो अभिव्यक्ति दिन्छन्, जान्छन् । बलियो पक्ष शिल्प र शैली छ । कवितात्मक शैलीको उपन्यास भएकाले पुरस्कारले कवितालाई पनि पुरस्कृत गरेको छ ।

पुरस्कार त पाएँ, यसको गरिमालाई जोगाउने कसरी ? अबको साहित्यिक यात्रा झन् चुनौतिपूर्ण छ । तर तपाईंहरुजस्ता शुभचिन्तक र पाठकले बढी हौस्याइदिनुभयो भने मलाई साँच्चै गाह्रै हुन्छ । आशा छ, यसलाई प्रेरणा मानेर अझै राम्रा कृतिहरु पाठकलाई दिनेछु ।

मैले सातवटा कृति लेखेँ । पुरस्कारको मोहले कहिल्यै कृति लेखिनँ । विचार र मुद्दामा अडिग रहेँ । सम्भवतः सफलताको पछाडि यस्तै कारक छ कि π

(पुरस्कार पाएलगत्तै ईकान्तिपुरकर्मी शेखर अधिकारीसँगको कुराकानीमा आधारित)