पहेलो ज्याकेट लगाएकी च्वाँक रैछे:जमुना वर्षा शर्मा

     एक निजी क्षेत्रको वित्तीय संस्थाका लागि केही दिनपहिले पत्रिकामा कर्मचारी आवश्यकताको विज्ञापन गरियो। विज्ञापनमा खुलाइए अनुसार योग्यता पुगेका उम्मेदवारले दरखास्त पनि दिए। सम्पूर्ण प्रक्रिया पुगेपछि अन्तर्वार्ताको लागि उनीहरुलाई बोलाइयो। अन्तर्वार्तामा शैक्षिक योग्यता, कामको अनुभव र आत्मविश्वासलाई हेरेर नम्बर दिइयो। अन्त्यमा जो उम्मेदवार सबैभन्दा उच्च नम्बर ल्याएर अग्रपंक्तिमा थिइन्, उनी पछि परिन् भने उनीभन्दा कम नम्बर ल्याउने छनोटमा परिन्। कुरा बुझ्दा थाहा भयो, शारीरिक रुपमा त्यति सुन्दर नभएकाले उनी छनोट नभएकी रैछन्। सुन्दा सामान्य लाग्छ यस्ता कुराहरु। अथक मिहिनेतले अध्ययन गरेर ब्युटिपार्लर धाउन नभ्याएकाहरु जो ‘कस्मेटिक’ जिन्दगीमा बाँच्दैनन्, उनीहरुलाई भने यसले समस्यामा पार्ने गरेको छ।

    लेखिका:-जमुना वर्षा शर्मा


भनिन्छ, शारीरिक सुन्दरता क्षणिक हुन्छ, आन्तरिक एवं बौद्धिक सुन्दरताले मानिसलाई सफल बनाउँछ। तर, यहाँ त्यो देखिएन। महिला हिंसाविरुद्ध चर्को विरोध र बहस भइरहँदा यस्ताखालका ‘अदृश्य’ हिंसाहरु पनि देखिइरहेका छन्। यो पनि हिंसाको अर्को रुप हो। जुन लुप्त रुपमा फैलिएको छ। शारीरिक हिंसालाई मात्रै बहसको विषय बनाइरहँदा यस्ता हिंसाहरु झन् फष्टाउँदै गएका छन्। बौद्धिक स्तर उकास्न दिन रात लागिपरेका कतिपय किशोरीहरु ब्युटिपार्लर धाइधाई सुन्दर आवरणमा देखिने सौख राख्दैनन्। पार्लर धाउन नभ्याएकाहरुलाई यस्तो अवस्थामा योग्यताले मात्र करियर सुरु गर्न गाह्रो हुने गर्छ।


यो एउटा महिलामाथिको अदृष्य मानसिक हिंसा हो। मानसिक रुपमा दिइने यस्ता हिंसा पनि कम पीडादायी हुँदैनन्। महिलालाई जहिले पनि उपभोग्य वस्तुको रुपमा मात्र हेर्ने प्रवृत्तिको निरन्तरता हो यो। हुन त अहिले विभिन्न सुन्दरी प्रतियोगिताहरु हुने गरेका छन्। प्रतियोगितामा उत्कृष्ट हुनेहरुले निजी क्षेत्रमा पनि राम्रै अवसर पाइरहेका छन्। यिनीहरुलाई विभिन्न क्षेत्रमा सद्भावनादूत हुने अवसर देखि जागिर पाउने सम्भावना प्रशस्तै देखिन्छ। तर यो सबै महिलाको पहुँच र क्षमतामा छैन, केही सीमित महिलाहरुमात्रै यसको पहुँचमा हुन्छन्। तर, कुरा सीमित महिला र सहरी युवतीको मात्र होइन।
यसरी आकर्षक व्यक्तित्वको जलप लगाएर महिला महिलाबीच नै विभेद गरिनुले पुरूष मानसिकता उजागर गर्छ। कि त दरखास्त आह्वान गर्ने बेलामा भन्नुपर्‍यो कि शारीरिक रुपमा सुन्दर व्यक्तिहरुले मात्र दरखास्त दिनुहोला। होइन भने योग्यता पुगेका र उत्कृष्ट अंक ल्याउनेलाई शारीरिक सुन्दरता खोज्दै अवसरबाट बञ्चित बनाइयो भने उसले अवसर कहिले पाउने र उसको बौद्धिकताको कदर कहिले हुने?
कतिपय ठाउँमा आकर्षक व्यक्तित्व भन्दै घुमाउरो पाराले पनि सुन्दर आवरणको खोजी गरिन्छ। प्रायःजसो सरकारी क्षेत्रमा भन्दा पनि निजी क्षेत्रमा यो अनिवार्य जस्तै छ। कतिपय निजी क्षेत्रले खुलेरै सुन्दरीको आह्वान गर्छन् जसमा एयरहोस्टेज पर्छन्। त्यसमा त्यस्तै योग्यता पुगेका जान्छन्, यसमा आपत्ति प्रकट गर्नु छैन तर अन्य क्षेत्रमा आवश्यक योग्यता पुगेकालाई घुमाउरो शैलीमा शारीरिक सुन्दरतामा लगेर जोख्दै योग्यताको अवमूल्यन गर्नु कति जायज हो? त्यसो त अन्तर्वाता लिने अधिकांश पुरूषहरु नै हुन्छन्। आकर्षक व्यक्तित्वको दुहाइ दिएर शारीरिक सुन्दरता छान्दै बौद्धिक एवं आन्तरिक सुन्दरीहरुलाई पाखा लगाउन पल्लकेकाहरुमा केहि निहित स्वार्थ हुनसक्छ। निजी क्षेत्रले आफ्नो व्यवसाय प्रवद्र्धनमा सुन्दर युवतीको बढी आवश्यकता ठानेको हुनसक्छ तर यो महिलामाथिको अदृश्य हिंसा हो जो बाहिर देखिँदैन भित्रभित्रै सल्किरहेको छ।
एक महिला मित्रले निजी क्षेत्रमा दरखास्त दिने बेलामा आफ्नै अगाडि केही व्यक्तिले ‘हेर्दा राम्री त पहेँलो ज्याकेट लगाएकी रहिछ’ भनेको सुनेपछि उनलाई दरखास्त दिनै मन लागेन रे। उनले भनिन्, योग्यता नै नहेरी सिधै शारीरिक सुन्दरता हेर्न ठाउँमा कसरी जागिर पाइन्छ र हामीजस्ताले? भर्खर बिबिएस सिध्याएकी उनले फ्रन्ट डेस्कको लागि बौद्धिकभन्दा पनि शारीरिक सुन्दरीको खोजी हुने गरेको बताइन्। ‘झट्ट हेर्दा शहरिया र सुन्दर युवतीहरुका अगाडि हामीले जागिर पाउन गाह्रो रहेको’ उनको अनुभव छ।
देशमा बेरोजगारी चरमचुलीमा छ। अधिकांश पुरुष युवाहरु विदेशतिर पलायन हुन्छन्। देशमा रहेका मध्यम र निम्न वर्गका युवाहरु पनि जागिरको अस्वस्थ्य प्रतिष्पर्धामा जुट्नुपर्ने हुन्छ। सरकारीतर्फ दक्ष जनशक्तिभन्दा निकै कम मात्रामा लोकसेवा आयोग खुल्ने गरेको छ। बाँकी सबै निजी क्षेत्रकै भर पर्नुपर्ने बाध्यता छ, त्यसमा पनि आफ्ना चिने जानेका नै प्राथमिकतामा पर्ने गर्छन्। योभन्दा बाहिर गए पनि राम्रो आवरण खोजिन्छ। हुन त यति भनिरहँदा यो जमानामा मेकअप गरे त सुन्दर भैहालिन्छ नि भन्ने तर्क पनि आउला तर यथार्थमा सुन्दरी नै किन खोजिन्छ काम रुपले गर्ने हो कि उसको कार्यकुशलताले? जागिर खान जाने युवती पक्कै पनि ‘फर्मल गेटअप’मा त गएकै हुन्छन्, बढी रुपवती खोज्नुको कारण के हो? कतिपय संस्थाका आ–आफ्नै नियम होलान्, त्यसमा कसैको आपत्ति छैन तर अन्तर्वार्ताबाट उत्कृष्ट भएकाहरु विभेदको सिकार हुनु चाहिँ पक्कै राम्रो होइन।
देशको संक्रमणकालीन राजनीतिक अवस्थाले रोजगारीका बाटाहरु प्रायः बन्द छन्। त्यहीमाथि पनि निजी क्षेत्रका राम्रो संघसंस्थामा महिलालाई जागिर खान निकै गाह्रो छ। अविवाहितलाई विवाह भएर गइहाल्छन् भनिन्छ भने विवाहितलाई बच्चाबच्ची हुन्छन्, अफिसलाई धेरै समय दिँदैनन्, बिदा बढी खोज्छन्जस्ता कुराहरु तेस्र्याएर रोजगारबाट बञ्चित गराइन्छ। पुरुषको हकमा भने यस्ता कुरा हेरिँदैन। महिलालाई उपभोग्य वस्तुको रुपमा मात्र हेरिँदा यावत समस्याहरु देखिँदै आएका छन्।
महिला हिंसाको कुरा गर्न थालेको पनि वर्षौँ भइसकेको छ। सबैमा समानताको आवाज पनि उठिरहेको छ। तर पनि महिलाहरु विभिन्न किसिमका हिंसामा परि नै राखेका छन्। आफ्नो योग्यता अनुसारको जागिर नपाएपछि निरास भएर कतिपय महिलाहरु भिन्न पेशा अँँगाल्न बाध्य समेत भएका छन्। त्यसो त जागिर लगाइदिने बहानामा महिलामाथि हिंसा भएका थुप्रै घटना पनि हामीले सुन्दै र देख्दै आएका छौं र यस्तो प्रकारको हिंसामा पनि कतिपय बौद्धिक सुन्दरीहरु पर्ने गरेका छन्।
jamuna.barsha@gmail.com
setopati.com