यौनकाण्डमा मुछिएका भारतीय बाबाहरु

आध्यात्मिक भेष धारण गरेका बाबा अर्थात् धार्मिक गुरुहरूको भारतमा ठूलो ‘स्कोप’ छ । ‘भनेजस्ता र खोजेजस्ता’ हरेक आकारप्रकारका बाबा त्यहाँ उपलब्ध छन् । ती भारतीय बाबाका अनुयायी नेपालमा पनि कम्ती छैनन् । अन्धभक्त नेपालीको ठूलै धनराशि उनीहरूको पोल्टामा पर्ने गरेको छ । तथापि, भारतभित्रै यी बाबाहरूको पृष्ठभूमि भने विवादास्पद छ । सेक्सदेखि ठगीसम्ममा उनीहरू मुछिएको पाइन्छ । हालै आशाराम बापु नामक एक बाबा यौन प्रकरणमा जेल नै परे । यहाँ भारतीय समाचार एजेन्सीबाट संकलित बाबाहरूका केही चर्चित स्क्यान्डल प्रस्तुत गरिएको छ ।


सत्य साईबाबा सत्य साईबाबा यौन उत्पीडनको आरोप खेप्ने सम्भवत: पहिलो सन्त थिए । त्यसो त आफ्नो पूरै जीवनमा उनी कुनै न कुनै विवादमा मुछिए । हातबाट विभूति पैदा गर्ने उनको जादुगरी कलालाई अनुयायीहरूले चमत्कारको नाम दिएका छन् । केही विदेशी भक्तले त उनीमाथि यौनशोषणको आरोपसमेत लगाए । आफ्ना भक्तलाई सम्मोहित गरेर यौनशोषण गरेको आरोप उनीमाथि थियो । कुण्डलिनी जागृत गर्ने नाममा उनले आधिरातमा आफ्ना महिला शिष्यासित अनुचित सम्बन्ध राख्ने गरेको पनि बताइन्छ । सन् १९७० मा एक ब्रिटिस लेखक टल ब्रोकले सत्य साईबाबालाई ‘सेक्सको भोको’ संज्ञा दिएका थिए । उनीविरुद्ध विभिन्न देशमा मुद्दासमेत परेको थियो । आफ्नो चमत्कारले जस्तो रोग पनि ठीक पार्ने दाबी गर्दै आएका साईबाबा आफ्नो जीवनको अन्तिम समयमा भने अस्पतालको शरणमा पुगेका थिए ।

ओशो रजनीश

आशोको नामले चिनिने रजनीशमाथि ड्रग्स सेवन गर्ने तथा खुला यौन क्रियाकलाप आयोजना गर्ने गरेको आरोप लाग्दै आएको छ । यसको खुलासा विगतमा उनकी पिए भएकी शीला आनन्दले गरेकी थिइन् । ओशो एक अद्भुत व्यापारी भएको पनि बताइन्छ । उनी आफ्नो उत्पादन, त्यसको मूल्य र बजारको राम्रो जानकारी राख्थे । ओशोको आश्रममा सबैलाई जोसुकैसित सेक्स गर्न खुला थियो । सेक्ससम्बन्धी उनका थुप्रै आपत्तिजनक अभिव्यक्ति जनमानसमा विवादित र आलोचित छन् ।



इच्छाधारी बाबा दिल्लीबाट पक्राउ परेका कथित इच्छाधारी बाबा प्रवचनको आवरणमा सेक्स धन्दा चलाउँथे । उनको वास्तविक नाम शिवमुरत द्विवेद्वी हो । उनले दक्षिणी दिल्लीको खानपुरमा एउटा मन्दिर बनाएका थिए । धर्मको नाममा यौनधन्दा चलाउने इच्छाधारीलाई देहव्यापारको आरोपमा पक्राउ गरिएको थियो । यी बाबा सन्त स्वामी भीमानन्द महाराज चित्रकुटवाले नामले पनि चिनिन्छन् ।


विक्रम चौधरी भारतीय मूलका योगगुरु विक्रम चौधरी आफ्नो ‘हट योग’ का कारण मानिसलाई प्रभावित पार्दापार्दै थुप्रै सेक्स स्क्यान्डलमा फसे । उनीमाथि यौनशोषण र बलात्कारको मुद्दा अहिले पनि चलिरहेको छ । यसका अलावा उनकी सल्लाहकार मीनाक्षी जावा बोडनले विक्रमलाई नक्सलवादी भएको दाबी गरेकी छिन् । उनकी एक पूर्वशिष्याले पनि उनीमाथि यौन उत्पीडनको आरोप लगाएकी छिन् । सारा बान नाम गरेकी २९ वर्षीया महिलाले विक्रम चौधरीले आफूमाथि थुप्रैचोटि यौनसम्पर्कका लागि दबाब दिएको दाबी गरेकी छिन् ।
समाचारअनुसार विद्यार्थीकालमा बान बिक्रम चौधरीको योग कक्षामा जाने गर्थिन् । सन् २००५ मा चौधरीले आफ्नो आश्रममा बानसित आपत्तिजनक प्रस्ताव राखेका थिए । चौधरीले पूर्वजन्ममै उनीहरूको सम्बन्ध रहेको बताउँदै यौनसम्बन्धका लागि दबाब दिएपछि बानले अस्वीकार गरिन् ।

चौधरीले थुप्रै शक्तिशाली अन्तर्राष्ट्रिय व्यक्तिलाई योग सिकाइसकेका छन् । उनीसित योग सिक्नेमा अमेरिकाका पूर्वराष्ट्रपतिहरू निक्सन, रोनाल्ड रेगन, बिल क्लिन्टनलगायत छन् ।



स्वामी नित्यानन्ददक्षिण भारतको एउटा चर्चित टिभी न्युज च्यानलले त्यहाँका ख्यातिप्राप्त धर्मगुरु स्वामी नित्यानन्दलाई एक तामिल नायिकासित रासलीला गरिरहेको दृश्य देखाएको थियो । ती स्वामीलाई बलात्कार, अश्लीलता र मारपिटको आरोपमा पक्राउ पनि गर्‍यो, भारतीय प्रहरीले । उनी थुप्रै दिनसम्म फरार रहे र फेरि प्रहरीले पक्राउ गरेर जेलमा कोच्यो । भारतीय सिआइडीले स्वामी नित्यानन्दविरुद्ध रामनगरं अदालतमा एउटा मुद्दा दायर गरेको थियो, जसमा उनले अन्य महिलाका अलावा एक विदेशी भक्तिनीसित कैयौँपटक जबर्जस्ती शारीरिक सम्बन्ध कायम गरेको उल्लेख छ । सिआइडीले दायर गरेको रिटमा नित्यानन्द अप्राकृतिक यौन क्रियाकलापमा पनि संलग्न हुने गरेको दाबी गरिएको थियो ।

- चिरञ्जीवी (एजेन्सीको सहयोगमा)