किन जितेन नेपालले ?त्यसका कारणहरू....


नेपाली राष्ट्रिय टिमका पूर्वप्रशिक्षक विराटकृष्ण श्रेष्ठले गत साफ खेललाई नजिकबाट नियाले । नेपालले राम्रो खेलेर पनि किन फाइनलसम्म पुग्न सकेन ? उनले त्यसका कारणहरू राजु घिसिङलाई यसरी बताए  :
नेपालले साफ च्याम्पियनसिपमा सधैं राम्रो प्रदर्शन गर्दै आएको छ । तर, उपाधि जित्न सकेको छैन । आठौं संस्करणमा पनि उही कथा दोहोरियो ।
प्रशिक्षकले प्रतिद्वन्द्वीअनुसार रणनीति बनाउनुपर्छ । समूह चरणका तीन खेलमा नेपालले राम्रो प्रदर्शन गर्‍यो । त्यसमा रणननीतिले काम गर्‍यो । नेपालले सेमिफाइनलको दोस्रो हाफ पनि नियन्त्रणमा राख्यो । पहिले गोल गर्न नसक्ने समस्या बेहोर्दै आएका थियौं । यसपल्ट सुधारियो । भारतविरुद्ध रबिन श्रेष्ठद्वारा सिर्जित अवसरमा जुमनु राईले आकर्षक गोल गरे । बाँकी चार गोल आफैंले बनाएको राम्रो मुभमा भएको थिएन । 'डेड बल'मा हामी राम्रो छौं । तर, खेलकै मुभमेन्टमा गोल गर्न चुकिरहेका छौं । त्यो पुरानै समस्या हो त्यसैले गोल निस्के पनि 'फिनिसिङ'को कमजोरी उस्तै छ ।
डिफेन्स र मिडफिल्डमा हामी राम्रो खेल्छौं । जहाँ विपक्षीले खुलेरै खेल्न दिने गर्छ । प्रतिद्वन्द्वीलाई दबाबमा राख्न र सकेसम्म धेरै गोलको अवसर सिर्जना गर्न अट्याकिङ थर्ड (विपक्षीको पेनाल्टी क्षेत्र वरिपरि) मा खेल्नुपर्छ । जहाँ विपक्षी डिफेन्सको कडा निगरानी हुने गर्छ । मिडफिल्डमा यसपल्ट अलि अगाडि बढेर अट्याकिङ थर्डमा खेल्ने कोसिस गरे । त्यो सुधारको पक्ष हो । अट्याकिङ थर्डमै रहेर खेल्न नसक्दा हामीले विपक्षी डिफेन्स चिर्न सकेनौं । किनभने खेलाडीमा धैर्य भएन । बल पायो कि पोस्टतिर हान्नै हतारिए ।
उपाधि जिते अपार्टमेन्ट र आजीवन भत्ता दिने घोषणा, घरेलु मैदान र समर्थकको साथले खेलाडीको मनोबल उच्च थियो । फुटबलमा कन्डिसनिङ, टेक्निकल, ट्याक्टिकल र मनोवैज्ञानिक पक्ष आधारभूत तत्त्व हुन् । खेल्ने दिमागले हो । त्यो आठौं साफको सबैभन्दा बलियो पक्ष हो । यसअघि नेपाली खेलाडी यस्तो कन्पिmडेन्ट देखिएको थिएन ।
नतिजा हात पार्न बल पोजेसन -बलमाथि नियन्त्रण), सहकर्मीको साथ र सम्पर्क -खेलाडी-खेलाडी र प्रशिक्षक(खेलाडी) एकदमै महत्त्वपूर्ण हुन्छ । बल पोजिसनमा सुधार भयो । पोस्टमा आक्रमण, गोल निस्कन सक्ने 'किलिङ पास' र डि्रब्लिङमा बलमाथि नियन्त्रण गुमाइन्छ । हाम्रो बल पोजिसन दर्शक लोभ्याउने खालको मात्र भयो । हाम्रा खेलाडीले अट्याकिङ थर्डमा नभई मिडफिल्डमै अनावश्यक डि्रब्लिङ गरिरहे ।
बल लिएर बढिरहेका खेलाडीलाई साथ दिने सहकर्मीको अभाव निरन्तरै देखियो । नतिजा निस्कने किलिङ पास भएन । प्रतिद्वन्द्वीले दबाब दिएको बेला हामीले फुटबलको प्रकृति बिर्सियौं । दबाबमा राम्रो खेल्न सक्ने नै अब्बल खेलाडीको विशेषता हो । हामी त्यही चुक्यौं ।
खेलाडीले क्षमताअनुसार शतप्रतिशत खेले । उनीहरूको योगदान प्रशंसनीय छ । खेलाडीको मेहनतअनुसार नेपाल च्याम्पियन हुनुपर्ने हो । उनीहरूलाई निर्देशन दिने काम प्रशिक्षकको हो । प्रशिक्षकमै पुरानो समस्या ज्यूँका त्यूँ भएपछि नेपालको साफ च्याम्पियन बन्ने सपना फेरि टाढियो । नयाँ प्रशिक्षकसँगै सिकाइमै परिवर्तन हुनुपर्छ । त्यो परिवर्तन मैदनामा देखिनुपर्छ । तर, ज्याक स्टेफनोस्कीको आगमनपछि खेलाडीको व्यक्तिगत र टिमको कौशलमा कुनै परिवर्तन देखिएन । पहिले जस्तो थियो, अहिले त्यस्तै छ ।
प्रशिक्ष्ाकले खेलकै अवधिमा खेलाडी कहाँ कमजोर र बलियो छ भन्ने निरीक्षण गर्नुपर्छ । समस्या पहिचान गर्दै त्यसको सही समाधान निकाल्नुपर्छ । त्यसका निम्ति प्रशिक्षक-खेलाडी र खेलाडी-खेलाडीमा नियमित सम्पर्क हुनुपर्छ, जुन भएजस्तो लाग्दैन । प्रशिक्ष्ाकले आ-आफ्नो रणननीतिअनुसार खेलाडी छनोट गर्छन् । तर, स्टेफनोस्कीले नेपालको कमजोरी हटाउन सही समाधान निकाल्न सकेनन् । आँखा दुखेको बिरामीलाई सिटामोल खुवाएजस्तो गरे ।
लेफ्ट विंगर जगजित श्रेष्ठ स्वस्थ नहुँदा पनि प्रकाश बुढाथोकी वा टंक बस्नेतलाई नखेलाउने हो भने किन छानियो ? भरत खवासलाई लेफ्ट विङ्समै खेलाउने हो भने पहिलो खेलमै फरवार्डमा किन राखियो ? फरवार्डको कोटामा किन छानियो ? लेफट् विङ्समै पनि उनको विकल्प खोई ? प्रशिक्ष्ाक आफैं रणभुल्लमा परेजस्तो लाग्यो । राइट विङ्समा राम्रो खेलिरहेका भोला सिलवालले लेफ्टमा सारिएपछि उस्तै प्रदर्शन गर्न सकेनन् । भोलालाई सेन्टर मिडफिल्डमा खेलाउने हो भने विक्रम लामा किन चाहियो ? सुरुबाटै खेल्न नसक्दा पनि भरतलाई ९० मिनेट नै खेलाए । के नेपालमा खेलाडी नै छैन ?
स्टेफनोस्कीले ४-४-१-१ को नयाँ संरचनामा खेलाए । यो नेपालको परम्परागत शैली ४-४-२ जस्तै हो । उनले फागुनमा ४-३-३ को शैलीमा खेलाएका थिए । इङ्ल्यान्डले १९६६ को वल्र्डकप जितेयता ४-४-२ मा परिवर्तन गर्न सकेको छैन । बार्सिलोनाले ४-३-३ खेलेको साढे दुई दशक भइसकेको छ । तर, स्टेफनोस्कीले ५ महिनामै दुई किसिमको टिम संरचना अपनाए । त्यसैले उनको सिस्टममा नेपाली खेलाडी अभ्यस्त भएजस्तो देखिएन ।
खेलाडीअनुसार सिस्टम बनाउनुपर्छ । तर, स्टेफनोस्कीले सिस्टमअनुसार खेलाडी बनाउन खोजे । यस्तो प्रयोगमा उनले च्यालेन्ज कप छनोटमा पनि खेलाडीको विशेषता चिन्न सकेका थिएनन् । उनी यसपल्ट पनि चुके । खेलाडी कुन सिस्टममा योग्य छन्, हेर्नुपर्छ । सिस्टममा योग्य नभेटिए विकल्प खोज्नुपर्छ । उनको नयाँ संरचनामा बेन्चमा खेलाडी नै नभएजस्तो देखियो । समूह चरणमा सबै खेलाडीले मेहनत गरेर राम्रो खेले । भोला र अनिलले समूह चरणमा उत्कृष्ट खेल देखाए । चारै खेलमा सन्दीप राईको प्रदर्शन सबैभन्दा माथि थियो ।
अफगानिस्तानविरुद्ध रोहित चन्द, जुमनु राई, अनिल गुरुङ र भरत खवास जम्नै सकेनन् । उनीहरूको सब्सिटच्युट खोई ? त्यसमा अनुभवी खेलाडीको अभाव थियो । त्यहाँ अन्तिम १० मिनेट मात्र भए पनि सन्तोष साहुखल उपयुक्त रोजाइ हुन सक्थ्यो । तर, उनलाई कुनै पनि खेलमा खेलाइएन । शारीरिक रूपमा बलिया उनीसँग बल राख्ने, डि्रब्लिङ क्षमता र स्किल राम्रो छ । उनलाई बेन्चमै थन्क्याउने भए किन टिममा राखियो ? खेलाडी छनोटमा प्रशिक्षकसँग विकल्प थिएन । अथवा, समस्या पहिचान, त्यसको उपचार र सम्पर्कमै स्टेफनोस्की चुके । त्यसैले एन्फाले प्रशिक्षकको क्षमताभन्दा धेरै विश्वास गरेजस्तो देखियो ।
बल हुँदा वा नहुँदा कहाँ, कहिले र कसरी खेल्ने भन्नेमा खेलाडी स्पष्ट हुनुपर्छ । थाकेको बेला पनि खेलाडीले सेकेन्डको एक अंशमै निर्णय गर्नुपर्छ । यस्तोमा हाम्रा खेलाडी अलमलिए । फुटबल 'गेम अफ मिस्टेक' हो । जित हात पार्न सकभर गल्ती कम गर्नुपर्छ । र, विपक्षीको गल्तीको फाइदा लिनुपर्छ । सेमिफाइनलमा अफगानिस्तानको गल्ती हामीले 'क्यास' गर्न सकेनौं । किरण चेम्जोङको गल्ती उसले उपयोग गर्‍यो । त्यसैमा उसले खेल जित्यो । दुई वर्षअघि नयाँदिल्लीमा नेपालले अफगानिस्तानविरुद्ध अझ राम्रो खेलेको थियो । तर, हामीले एकै गल्तीको चर्को मूल्य चुकाएका थियौं ।
साफको सेमिफाइनल पुगेकोले हाम्रो फुटबल बाँचेको मान्नुपर्छ । समूहबाटै बाहिरिएको भए त बर्बादै हुन्थ्यो । खेलाडी, प्रशिक्षक र व्यवस्थापनको सँगसँगै विकास नभए सफलता हात लाग्दैन । तर, अहिलेको समस्या सिकाइमै हो । राष्ट्रिय टिम प्रतियोगितामा अनुकूल नतिजा दिने हुनुपर्छ । टिममा व्यावसायिक विशेषता चाहिन्छ । सफलता हासिल गर्न ल्याइने प्रशिक्षक असफल भए बर्खास्त पनि गर्नुपर्छ ।
स्टेफनोस्की च्यालेन्ज कपमा पनि 'फ्लप' भएका थिए । उनको सिकाइ प्रक्रिया नै एकेडेमीकै जस्तो एमेच्योर छ । राष्ट्रिय टिम र एकेडेमी फरक हुन् । उनी नाम चलेका खेलाडी वा प्रशिक्षक पनि होइनन् । दुई वर्षअघि आएका प्रशिक्षक ग्राहम रोबर्ट्स ट्याक्टिसमा स्टेफनोस्कीभन्दा धेरै माथि थिए । उनको नेतृत्वमा सातौं साफमा पनि नेपालले निकै राम्रो खेलेको थियो । हामीलाई आकर्षक खेल होइन, अनुकूल नतिजा चाहिएको छ । दुवै भए सुनमा सुगन्ध नै हुनेछ ।
 source:-ekantipur